महानगर प्रमुख बालेनलाई प्राधिकरणले सोध्यो ७ दिने स्पष्टीकरण

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहसहित तीन जनालाई स्पष्टीकरण सोधेको छ । सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पूर्वजानकारी र सूचना नदिई फेन्सिङ तार काटेको विषयमा स्पष्टीकरण सोधेको हो ।

महानगरको ९ नम्बर वडामा पर्ने प्राधिकरणको विमानस्थल क्षेत्रसँग सम्बन्धित क्षेत्रमा बिहीबार महानगरले नगरप्रहरीसहितको टोली पठाई फेन्सिङ तार काटिदिएको थियो ।

‘प्राधिकरणका कर्मचारीले फेन्सिङ तार नकाट्न अनुरोध गर्दा पनि अटेर गरी जबर्जस्ती कार्य गरेको, सोसम्बन्धी पत्र तथा जानकारी माग्दा नगर प्रमुखको आदेशबमोजिम कार्य गरेको र त्यहीँ सोध्न जानुहोस् भनी जवाफ दिएकाले सो कार्यमा तपाईँ (मेयर) को संलग्नता देखिएकाले प्राधिकरणको ऐनको दफा ७ को कसुरमा ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्नु,’ प्राधिकरणले मेयर शाहलाई लेखेको पत्रमा उल्लेख गरिएको छ ।

प्राधिकरणले यसै विषयमा महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे र वडा नम्बर ९ का अध्यक्ष रामजी भण्डारीलाई पनि सात दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here