वाणिज्य विभागले भन्यो-‘भ्याट बहानामा प्याजमा बढी मूल्य लिए कडा कारबाही गर्छौं’

काठमाडौं । भ्याटको बहानामा व्यवसायीले प्याजको मूल्य बढाएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाहीको चेतावनी दिएको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै विभागले कानुनले तोकिदिएको दायित्व पूरा नगर्ने व्यवसायीलाई अनुगमन गरेर कडा कारबाही गर्ने जनाएको हो ।

‘वस्तुको स्वभाविक मूल्य भन्दा बढी कायम गरेर बिक्री गर्ने कार्य उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार दण्डनीय अपराध हो’ विभागले सार्वजनिक सूचना जारी गर्दै भनेको छ ‘आगामी आर्थिक वर्ष २०८०/८१ को लागि पेश भएको बजेटमा प्याजको आयातमा मूल्य अभिवद्धि कर लागेको बहानामा नियमित आपूर्ति भइरहेको वस्तुमा स्वभाविक मूल्य भन्दा उच्च मूल्यमा बेच्न पाइँदैन ।’

दैनिक आधारभूत आवश्यकताका वस्तुको आपूर्ति प्रणालीमा आवद्ध हुने पैठारीकर्ता, ढुवानीकर्ता,सञ्चयकर्ता तथा बिक्रेताले तोकिदिएको दायित्व बहन गर्नुपर्ने विभागले जनाएको छ । पारदर्शी तरिकाले व्यवसाय सञ्चालन गर्न कानुन बमोजिम बिल बिजक जारी गरी कारोबार गर्न विभागले भनेको छ ।

सरकारले आउँदो आर्थिक वर्ष २०८०/८१ को लागि जेठ १५ गते घोषणा गरेको बजेटमा आलु प्याजमा १३ प्रतिशत भ्याट लगाउने घोषणा गरेको थियो । यसैलाई लिएर व्यवसायीले आयात रोकेपछि अहिले बजारमा प्याजको भाउ महंगो भएको छ ।

पहिला किलोको ३५ पर्ने प्याज अहिले बजारमा एक सय रुपैयाँ पुगेको छ । बजारमा आलु प्याजको अस्वभाविक मूल्य वृद्धिपछि अनुगमन समेत थालेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here