सामुदायिक विद्यालय बन्दको कार्यक्रम फिर्ता

काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले सामुदायिक विद्यालय बन्दका कार्यक्रम फिर्ता लिएको छ । विद्यालय कर्मचारीले आइतबारदेखि सामुदायिक विद्यालय बन्दको कार्यक्रम घोषणा गरेका थिए ।

सरकारले वार्ताका लागि समिति गठन गरेपछि आन्दोलनरत विद्यालय कर्मचारीहरूले विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएका हुन् ।

नेपाल विद्यालय कर्मचारी युनियन, सामुदायिक विद्यालय कर्मचारी संघ र विद्यालय कर्मचारी परिषदले संयुक्त विज्ञप्ति जारी गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले वार्ता टोली गठन गरेर सम्बादको वातावरण बनाउन आग्रह गरेको भन्दै विद्यालय बन्दको कार्यक्रम तत्कालका लागि स्थगन गरिएको जानकारी दिएको छ ।

उचित पारिश्रमिक र दरबन्दीको माग गर्दै जेठ १५ यता विद्यालय कर्मचारी आन्दोलनमा छन् । सामुदायिक विद्यालयका लेखाशाखाका कर्मचारी र कार्यालय सहयोगी (पीएन) हरु कामकाज छाडेर आन्दोलनमा थिए । देशभर ३५ हजार यस्ता कर्मचारी रहेका छन् । सरकारले लेखा शाखामा काम गर्नेलाई मासिक साढे १३ हजार र कार्यालय सहयोगीलाई ८ हजार मात्रै पारिश्रमिक उपलब्ध गराउँदै आएको छ ।

वार्ताको माध्यमबाट आन्दोलन राखिएका मागहरु सम्बोधन गर्न सरकार गम्भिर नदेखिएमा, सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरेमा, विगत वर्षहरुमा भएका र गरिएका सहमति र सम्झौताहरु कार्यान्वयन नगरेको खण्डमा पुनः आन्दोलनका कार्यक्रम अगाडि बढाउने परिषद्ले चेतावनी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here