‘कुटपिट गरेर मरणासन्न बनाएको मान्छेको मुद्दा फिर्ता लिने कहाँको न्याय हो ‘ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्नेविरूको ज्यान मार्ने उद्योग मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै उनले उपप्राध्यापक चलाउनेलाई न्याय दिन र पीडिक नेविसंघका विद्यार्थीहरूलाई दण्डित गर्न पनि सरकारसँग माग गरेका हुन्।

त्रिभुवन विश्वविद्यालयका समाजशास्त्रका उपप्राध्यापक चलाउनेलाई विश्वविद्यालय परिसरमै मरणासन्न हुने गरी कुटपिट गर्नेलाई कडाभन्दा कडा कारबाही गर्नुको सट्टा उनीहरुमाथि लगाइएको मुद्दा समेत फिर्ता लिने काम गरेर सरकारले अन्याय गरेको भन्दै उनले आक्रोश व्यक्त गरे ।

‘हामी कुनै बेला नेपाललाई शान्ति क्षेत्र भन्दथ्यौँ । आज कमसेकम विश्वविद्यालयहरु शान्ति क्षेत्र हुन भन्ने हाम्रो अवधारणगत बुझाइ हो । प्रहरीले पनि भित्र जान पाउँदैन भन्ने हाम्रो शान्तिको मान्यतालाई गुण्डागर्दीको शैलीमा दिनदहाडै त्यसरी कुटपिट गरेर मरणासन्न बनाएको मान्छेको मुद्दा फिर्ता लिने यो कहाँको न्याय हो ?,’ उनले भने, ‘न्याय चाहिन्छ । न्यायलाई मर्न नदिऊँ । न्याय पनि मर्‍यो भने हाम्रो आशा रहँदैन । विश्वविद्यालयजस्तो क्षेत्रमा त्यसरी गुण्डागर्दी शैलीमा मरणासन्न हुने गरी कुट्नेहरुलाई नछोडौँ ।’

नेविसंघका कार्यकर्ताविरूद्धको ज्यानमार्ने उद्योगको मुद्दा गत जेठ ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले फिर्ता गर्ने निर्णय गरेको थियो। सरकारले यसरी मुद्दा फिर्ता गर्ने निर्णयपछि पीडित चलाउने अनसनमा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here