पोखरा विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय उडान हुँदै

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज (बुधबार) पहिलोपटक अन्तर्राष्ट्रिय उडान हुने भएको छ । छिमेकी मुलुक चीनको छेन्दु–तियान्फु विमानस्थलबाट सिचुवान एयरलायन्सले पोखरामा सिधा चार्टर उडान गर्न लागेको हो ।

सिचुवान एयरलायन्सको एयरबस ए-३१९ जहाज बुधबार बिहान साढे ९ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने विमानस्थलका सूचना अधिकारी विष्णु अधिकारीले जानकारी दिए । ‘उडानको सबै तयार पूरा भइसकेको छ, यात्रुहरुको स्वागतका लागि संक्षिप्त कार्यक्रम राखिएको छ,’ उनले भने ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसहितले पहिलो अन्तर्राष्ट्रिय उडानबाट पोखरा ओर्लने यात्रुलाई स्वागत गर्ने कार्यक्रम तय गरिएको हो ।

उक्त जहाजबाट हाल चीन भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको नेपाली टोली र आगामी शुक्रबार र शनिबार पोखरास्थित फेवातालमा हुन लागेको ‘नेपाल-चीन फ्रेन्डसीप ड्रागन वोट फेस्टिभल’ मा सहभागी हुने चिनियाँ खेलाडी तथा पर्यटक पोखरा आउँदैछन् ।

जहाजबाट १३५ जना यात्रु पोखरा ओर्लने विमानस्थलका सूचना अधिकारी अधिकारीले बताए । उक्त जहाज बुधबार नै पोखराबाट काठमाडौँ अवतरण भई नियमित उडानमार्फत छेन्दु फर्कनेछ ।

पोखरामा उक्त जहाजको अर्को उडानबारे जानकारी आइनसकेको विमानस्थलले जनाएको छ । अङ्ग्रेजी नयाँ वर्ष पारेर गत पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । उक्त विमानस्थलबाट हाल आन्तरिक उडान मात्रै हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here