विदेशबाट फर्केका युवा कर्जा ४९ जनाले पाए, कुल कर्जा ३ करोड ५९ लाख मात्र

काठमाडौं ६, भदौं । सहुलियतपूर्ण ब्याजदरको विदेशबाट फर्केका युवा कर्जा ४९ जनाले मात्र पाएका छन् । यो कार्यक्रम अन्तरगत नौ महिनाको अवधिमा ४९ युवालाई ३ करोड २९ लाख १० हजार रुपैयाँ सहुलियत दरको कर्जा वितरण भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

रोजगारका लागि विदेशीने नागरिकलाई स्वदेशमै रोक्नुका साथै उद्यमशिलता विकास गर्ने उद्देश्यले सरकारले विदेशबाट फर्केका युवा कर्जा कार्यक्रम ल्याएको थियो ।

गत असारसम्म विदेशबाट फर्केका युवा कर्जा कार्यक्रम अन्तरगत बैंकले कुल ३ करोड ५९ लाख ७० हजार रुपैयाँ बराबरको ऋण स्वीकृत गरेका छन् । त्यसमध्ये सवा ३ करोड रुपैयाँ मात्र लगानीमा रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

राष्ट्र बैंकले ०७५ कात्तिक २० मा सहुलियतपूर्ण कर्जासम्बन्धी कार्य्विधि जारी गरेको थियो । कार्य्विधिमा व्यावसायिक कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशील, दलित समुदाय व्यवसाय विकास, उच्च प्राविधिक तथा व्यावसायिक शिक्षा र भूकम्पपीडितको निजी आवास निर्माण कर्जा गरी सात किसिमको कर्जाका लागि ५ प्रतिशत ब्याज अनुदान दिने व्यवस्था ल्याएको थियो ।

गत असारसम्म कुल १८ हजार २ सय ९५ ऋणीले करिब ३७ अर्ब ८४ करोड रुपैयाँ कर्जा स्वीकृत गरेका छन् । सोही अवधिमा ३२ अर्ब ८२ करोड १५ लाख रुपैयाँ ऋण प्रवाह भएको बताइएको छ । यो सातवटै शीर्षकमा सबै बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको ऋण हो ।

ब्याज अनुदान दिइने कर्जाको भुक्तानी अवधि बढीमा ५ वर्षसम्मको छ । कर्जाको अवधि व्यवसायको प्रकृतिअनुसार बैंक तथा वित्तीय संस्थाले तोक्न सक्ने छुट पनि सरकारले दिएको छ ।

कार्यविधि अनुसार सरकारले ब्याज अनुदान उपलब्ध गराउने कर्जामा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दर (बेस रेट) मा २ प्रतिशत विन्दभन्दा बढी नहुने गरी ब्याजदर कायम गर्नुपर्नेछ ।

यो शिर्षक अन्तरगत ब्याज अनुदानको ऋण प्राप्त गर्ने व्यक्ति विदेशबाट फर्केके बढीमा तीन वर्ष हुनुपर्ने छ । र त्यसको प्रमाणीकरण वैदेशीक रोजगार विभागबाट गराउनुपर्ने कार्यविधिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here