काठमाडौं । जेठमा चालु आर्थिक वर्षकै सबैभन्दा धेरै विदेशी वस्तु आयात भएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार जेठमा १ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो यस वर्षकै धेरै हो। यसअघि गत चैतमा १ खर्ब ४३ अर्ब १२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
जेठ मसान्तसम्म कुल १४ खर्ब ८० अर्ब रुपैयाँ बढीको वस्तु आयात भएको छ । सरकारले पुस १ देखि गाडी, मोबाइल लगायत विलासी वस्तुको आयात प्रतिबन्ध खुलाएको थियो भने माघ ५ देखि एलसी खोल्दा चाहिने नगद मार्जिनको प्रावधान हटाएको थियो ।
जेठसम्म नेपालले कुल १६ खर्ब २४ अर्ब रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार गरेको छ । जसमा १४ खर्ब ८० अर्ब रुपैयाँको वस्तु आयात हुँदा १ खर्ब ४३ अर्ब रुपैयाँको निर्यात भएको छ ।
व्यापार घाटामा सुधार
चालु आवमा व्यापार घाटामा सुधार आएको छ । गत वर्षको जेठको तुलनामा चालु आवमा व्यापार घाटा १५.२१ प्रतिशत कम हो ।गत वर्षको जेठसम्म कुल १५ खर्ब ७७ अर्ब रुपैयाँ व्यापार घाटा रहेकोमा चालु आवको सोही अवधिमा १३ खर्ब ३७ अर्बमा सीमित भएको छ ।
समीक्षा अवधिमा आयात र निर्यात दुवै घटेको छ । आयात गत आवको यसै अवधिको तुलनामा १६.०१ प्रतिशत र निर्यात २२.७४ प्रतिशतले खुम्चिएको छ ।




















