मेयर बालेनलाई लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहविरुद्धको अदालतको अवहेलना मुद्दामा सर्वोच्चले लिखित जवाफ पेस गर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

गत शुक्रबार अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा बालेनविरुद्ध रिट निवेदन दायर गरेकी थिइन् । अदालतको अवहेलना गरेको ठहर भए एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय वा अरू कुनै आदेश हुन सक्छ ।

उच्च अदालत पाटनले दिएको आदेश नमान्ने भन्दै मेयर शाहले सामाजिक संजालमा घोषणा गरेका थिए । उनले अदालतलाई विभिन्न आक्षेप लगाएका थिए ।

हिन्दी सिनेमा ‘आदिपुरुष’ को प्रदर्शनीमाथि मेयर शाहले लगाएको प्रतिबन्धविरुद्ध हल सञ्चालकहरूले दिएको निवेदनमा सुनुवाइ गर्दै उच्च अदालत पाटनले महानगरको निर्णय कार्यान्वयनमा रोक लगाएको थियो ।

आफ्नो निर्णय रोक्न उच्च अदालत पाटनले रोक लगाएपछि मेयर शाहले सामाजिक संजाल फेसबुकमा लेखेका थिए, ‘अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ । जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइने छैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here