‘मिटरब्याजी,सहकारीका ठग र भ्रष्टाचारविरुद्ध लडाइँ सुरु गरेँ, अझै बढी जनसमर्थन चाहियो’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याजी र सहकारीका ठगहरूमाथि कारवाही सुरु भइसकेको बताएका छन्।

प्रतिनिधि सभाको बैठकलाई बुधबार सम्बोधन गर्दै उनले भने, ‘हिजोबाट प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवास काण्डका अभियुक्तहरू पक्राउ पर्न थालेको र मिटरब्याजी र सहकारीका ठगहरूमाथि कारवाही सुरु भइसकेको छ।

वर्षौंदेखिको विकृतिको डुंगुर सफा गर्ने सुशासनको यो लडाईमा मलाई संसद र जनताको अझ धेरै समर्थन चाहिएको छ।’

यस्तै, उनले हाइप्रोफाइल व्यक्तिहरू कानुनभन्दा माथि रहने मनोविज्ञानले जनतामा आक्रोश बढाइरहेका बेला आफूले इतिहासका दुई घटना खोतल्ने प्रयास गरेको र यो अभियान नरोकिने बताए।

‘हाइप्रोफाइल व्यक्तिहरू कानुनभन्दा माथि छन् भन्ने आममनोविज्ञान बनिरहेको थियो। त्यसले जनतामा ठूलो आक्रोश जन्माइरहेको थियो। त्यो असन्तोषले लोकतन्त्रप्रति नै नकारात्मक धारणा बनिरहेको थियो।

र नक्कली भुटानी शरणार्थी प्रकरणमा इतिहासकै ठूलो अनुसन्धान र कारबाहीपछि जनतामा विश्वास जाग्न सुरू भएको छ।

नक्कली भुटानी शरणार्थी काण्डको सफल अनुसन्धानपछि सरकारले कानुनको सर्वोच्चता मात्रै प्रमाणित गरेको छैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘उच्च पदस्थ र देशको एउटा वर्ग कानुभन्दा माथि छ भन्ने निराशावादी मान्यता गलत प्रमाणित भएको छ।

यो काण्डको सफल अनुसन्धानसँगै लोकतन्त्रको सर्भिसिङ र शुद्धिकरण पनि सुरू भएको छ। यो शुद्धीकरण यत्तिमा रोकिने छैन। यो निरन्तर अगाडि बढ्नेछ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here