काठमाडौं । साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डसहित दुई जनाको मृत्यु भएको छ । गोली लागेर मारिने नेपाली अमेरिकी दूतावासका सुरक्षा गार्ड हुन्।
साउदी समाचार संस्था एसपीएले मक्का सहरका प्रहरी प्रवक्ताको बयानलाई उद्धृत गर्दै जनाएअनुसार कारमा सवार एक व्यक्ति अमेरिकी दूतावास अगाडि हातमा बन्दुक लिएर ओर्लिएका थिए। दूतावासको सुरक्षामा खटिएको सुरक्षा बलका सुरक्षाकर्मीले नियन्त्रणको प्रयास गर्दा गोली चलेको थियो।
गोली हानाहानमा हातमा बन्दुक लिएर ओर्लिएका शंकास्पद व्यक्तिको पनि मृत्यु भएको थियो भने नेपाली सुरक्षागार्ड घाइते भएका थिए। घाइते नेपाली सुरक्षा गार्डको केही समयमै मृत्यु भएको समाचार संस्था एसपीएले जनाएको छ।
वाणिज्य दूतावासका प्रवक्ताले घटनाको पुष्टि गरेका छन्। ‘त्यहाँ दुईजनाको मृत्यु भएको थियो, जसमा वाणिज्य दूतावासका स्थानीय गार्ड फोर्सका एक सदस्य (नेपाली सुरक्षा गार्ड) र साउदी सुरक्षा बलले मारेका आक्रमणकारी पनि थिए,’ वाणिज्य दूतावासका प्रवक्ताले भनेका छन्।
मृत्यु भएका नेपाली सुरक्षा गार्डको नाम तथा नेपालको ठेगाना खुलेको छैन। साउदी अधिकारीहरूले घटनाको अनुसन्धान भइरहेको जनाएका छन्।
जेद्दामा रहेको अमेरिकी वाणिज्य दूतावास सन् २०१६ मा पनि निशानामा परेको थियो । अमेरिकी दूतावास नजिकै एक जनाले आत्मघाती बम विस्फोट गराउँदा आत्मघाती आक्रमणकारीको मृत्यु हुनुका साथै दुई जना घाइते भएका थिए ।






















