प्रचण्डले नेतृत्व सम्हालेको ६ महिनामा ७७ उपलब्धी, २.४१ प्रतिशतमा विद्युतको पहुँच विस्तार (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री पुष्पकलम दाहाले सरकारको नेतृत्व सम्हालेको ६ महिना पूरा भएको छ । गत पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले आफ्नो ६ महिने कार्यकालको उपलब्धीहरु सार्वजनिक गरेका छन् ।

उनले आफ्नो ६ महिने कार्यकालमा उल्लेख्य उपलब्धी हासिल भएको बताए । बुधबार प्रतिनिधिसभामा सरकारको ६ महिने उपलब्धि, सोच र गन्तव्य सुनाउँदै उनले आफ्नो कामले डिस्टिङसन नै पाउनुपर्ने बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डले थप २.४१ प्रतिशत जनतामा विद्युतको पहुँच विस्तार गरेको बताएका छन्।

‘४०८ मेगावाट विद्युत उत्पादन क्षमता वृद्धि भई हालसम्म जडित विद्युत २६७८ मेगावाट पुगेको। विद्युतमा पहुँच पुग्ने जनसंख्या ९३.५९ प्रतिशतबाट वृद्धि भई ९६ प्रतिशत पुगेको छ,’ सरकारको उपलब्धी विवरणमा भनिएको छ,‘नेपाल र भारतबीच दश वर्षमा दश हजार मेगावाट विद्युत निर्यात गर्नेगरी दीर्घकालीन विद्युत व्यापार सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको छ।

यसैगरी, पछिल्लो ६ महिनायता कुल विदेशी विनिमय सञ्चिति २०.९ प्रतिशतले वृद्धि भएको, ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने सुरक्षित अवस्थामा पुगेको, कुल वस्तु व्यापार घाटामा १५.२ प्रतिशतले कमी आएको, विप्रेषण उल्लेखनीय रूपमा बढेको, पर्यटक संख्या दोब्बरले बढेको, बैंक दर र ब्याजदर घटेर वित्तीय क्षेत्रको स्थायित्व र लगानीको वातावरणमा सकारात्मक सुधार भएको प्रगति विवरणम उल्लेख छ ।

विशेषतः अर्थतन्त्रको सुधार तथा पुनरुत्थान र भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा प्राथमिकताका साथ कदम चालिरहेको सरकारको दाबी छ । नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, मिटब्याज पीडितको सन्दर्भमा ऐन संशोधनदेखि विभिन्न कदम चालिएको विषयलाई प्राथमिकताका साथ उल्लेख गरेको छ ।

प्रचण्ड एमालेसहितको गठबन्धनको समर्थनमा २०७९ पुस ११ मा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । त्यसयता प्रचण्डले दुई पटकसम्म संसदबाट विश्वासको मत लिइसकेका छन् ।

उनले पहिलो पटक पुस २६ मा संसदबाट विश्वासको मत लिएका थिए भने सत्ता गठबन्धन फेरिएपछि दोस्रो पटक चैत ६ मा विश्वासको मत लिएका थिए ।

एमालेसहितका दलहरुको सहयोगमा पहिलो पटक प्रधानमन्त्री बनेका प्रचण्ड, तत्कालिन गठबन्धन विघटनपछि कांग्रेससहितका दलहरुको समर्थनमा सरकारको नेतृत्वमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here