‘संक्रमणकाल देखाएर जिम्मेवारीबाट भाग्नु हुँदैन’

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालका नाममा आर्थिक सामाजिक विकासमा ढिलाइ गर्ने छुट कसैलाई नभएको बताएका छन् ।

शुक्रबार दिउँसो पोखरामा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले तीनै तहमा भएका निर्वाचनले राजनीतिक संक्रमणको अन्त्य गरेको र अबको हाम्रो साझा गन्तव्य सुशासन र सम्बृद्धिमार्फत् समुन्नत नेपाल निर्माण गर्नु भएको बताउँदै संक्रमणकाल देखाएर जिम्मेवारीबाट नभाग्न सबैसँग आग्रह गरे ।

हामीले निकै लामो समय राजनीतिक संक्रमणमा नै बितायौं। जसले गर्दा देशको समग्र आर्थिक सामाजिक विकासका कार्यसूची ओझेलमा पर्दै गए ।

तीनै तहमा भएका निर्वाचनले राजनीतिक संक्रमणको अन्त्य गरेको छ, प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यसैले अबको हाम्रो साझा गन्तव्य सुशासन र सम्बृद्धिमार्फत् समुन्नत नेपाल निर्माण हो । तीन तहका सरकारबीचको समन्वय र सहकार्य नभई यो लक्ष्य पूरा हुन सक्दैन ।’

संविधानले तीन तहका सरकारहरूको कार्य र अधिकारको सूची स्पष्ट गरेको भन्दै उनले उपलब्ध साधनस्रोतको अधिकतम परिचालन गर्दै कार्यभार पूरा गर्नेतर्फ सबैको प्रयास हुनुपर्नेमा जोड दिए ।

‘सरकार आउने जाने भइरहन्छ, तर व्यवस्था संस्थागत भइसकेको र राजनीतिक संक्रमणको अन्त्य भइसकेकाले अब पनि संक्रमणणको नाममा आर्थिक सामाजिक विकासमा ढिलाइ गर्ने छुट हामी कसैलाई छैन,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here