६ महिनामा भित्रिए ४ लाख ७६ हजार पर्यटक

काठमाडौं । सन् २०२३ को ६ महिनामा चार लाख ७६ हजार पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यो सन् २०१९ को तुलनामा ८३ प्रतिशत ‘रिकभर’ हो ।

सन् २०२० को सुरुआतदेखि कोरोना महामारी सुरु भएपछि घट्दो क्रममा रहेको पर्यटक आगमन सन् २०२३ मा भने ‘रिकभर’ हुने अवस्थामा पुगेको छ ।

बोर्डका अनुसार सन् २०१९ को जनवरीदेखि जुनसम्म कुल पाँच लाख ३६ हजार ५८ पर्यटक नेपाल भित्रिएका थिए । कोरोना महामारी सुरु भएको वर्ष सन् २०२० मा दुई लाख २० हजार ७१५, सन् २०२१ मा ५८ हजार ५८ र सन् २०२२ मा दुई लाख ४० हजार ९०१ पर्यटक नेपाल आएका थिए ।

यस वर्षको जनवरीदेखि जुनसम्म नेपाल भित्रिने पर्यटकको संख्या गत वर्षको तुलनामा ९७.७९ प्रतिशतले बढी हो । सन् २०१९ को तुलनामा १६.९३ प्रतिशतले कम हो ।

बोर्डका अनुसार यस वर्षको जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २४४, मार्चमा ९९ हजार ४२६, अप्रिलमा ९८ हजार ७७३ र मेमा ७७ हजार ७०३ पर्यटक नेपाल आएका थिए । साथै, जुनमा ७२ हजार २५० जना पर्यटक नेपाल आएका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here