कोशीमा नयाँ सरकार गठनको दाबी पेस गर्न ५ दिन समय

काठमाडौं । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले ५ दिन समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका छन् । उनले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मिलीजुली सरकार गठनका लागि आह्वान गरेका हुन् ।

‘कोशी प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा कोशी प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कोशी प्रदेश सभाको सदस्यलाई मिति २०८०/३/२१ गते बिहीबार अपरान्ह ५ः०० बजेभित्र कोशी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्ति गरी निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद् गठन गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेस गर्न आह्वान गर्नुभएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री कार्की २०७९ पुस २४ मा मुख्यमन्त्री नियुक्त भएका थिए । उनले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम प्रदेश सभामा विश्वासको मतका लागि राखेको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम पारित हुन नसकेपछि पदमुक्त भएका थिए ।

अब दलहरुले २१ असारसम्म प्रदेशसभाका बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्री प्रस्ताव गर्नुपर्नेछ । शुक्रबार एमाले नेता हिक्मतकुमार कार्की प्रदेशसभाबाट विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here