गण्डकी, लुम्बिनी र मधेस प्रदेशका केही ठाउँमा भारी वर्षा

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ।

कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग हल्का देखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ।

पाल्पाको बल्ड्याङगढी क्षेत्रमा पछिल्लो ३ घण्टामा मात्रै ११३.६ मिलिमिटर वर्षा भएको छ। उक्त क्षेत्रमा पछिल्लो २४ घण्टामा २४८ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ।

यस्तै, स्याङ्जाको कुमालगाउँ क्षेत्रमा पछिल्लो २४ घण्टामा १४२ मिलिमिटर वर्षा भएको छ। दाङको कोइलावास क्षेत्रमा पछिल्लो २४ घण्टामा १३७.२ मिलिमिटर वर्षा भएको छ। अर्घाखाँचीको खान्चीकोटमा १५४.६ मिलिमिटर वर्षा भएको छ। नवलपुरको देउवाली नवलमा १४३.८ मिलिमिटर वर्षा भएको छ।

लमजुङको खुडी बजारमा १३१.८ मिलिमिटर वर्षा भएको छ। पाल्पाको तानसेनमा पछिल्लो २४ घण्टामा १६३.८ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ ।

त्यसैले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ।

तसर्थ भारी वर्षा, मेघ-गर्जन/चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here