पारागन फुटवेयर इण्डष्ट्रिजको २६ वर्षमा, अन्तर्राष्ट्रिय बजारमा पनि विस्तार गर्ने प्रतिबद्धता

काठमाडौं । पारागन फुटवेयर इण्डष्ट्रिज (पीजी सुज) २६ वर्ष प्रवेश गरेको छ । पीजी सुज ब्रान्डको नेपाली जुत्ता उत्पादक कम्पनी पारागन फुटवेयर इन्डस्ट्रिजले आइतबारदेखि आफ्नो स्थापनाको रजत वर्ष पूरा गरेको हो ।

पीजी सुज ब्राण्डले हाल पार्टी, क्याजुअल, बच्चा, कलेज तथा स्कुल स्पोर्टस लगायतका जुत्ता उत्पादन गर्दै आइरहेको छ ।

स्थापनाकालदेखि नेपालमा छालाका स्तरीय जुत्ता उत्पादन र बिक्री वितरण गर्दै आएको कम्पनीले सुरुआतमा अधिकांश काम हातबाटै सुरु गरेको कम्पनीका प्रबन्ध निर्देशक रामहरि तोलाङ्ग बताउँछन्।

सुरुआतमा बढीमा १५ देखि २० जोर जुत्ता उत्पादनबाट सुरु भएको उद्योगका उत्पादन अहिले देशव्यापी भएका छन्। उद्योगदेखि सोरुमसम्म करिब १०० जना प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा साढे ३०० बढी जनशक्तिलाई रोजगारी प्रदान गरिरहेको पारागन फुटवेयरले आगामी दिनमा आयातीत जुत्तालाई प्रतिस्थापन गर्दै निर्यातमा जाने र ग्राहकले पनि विदेशी जुत्ता खोज्नै नपर्ने अवस्था ल्याउने गरी काम गरिरहेको कम्पनीका प्रबन्ध निर्देशक तोलाङ्गले बताए।

चन्द्रागिरी नगरपालिका–९ मा रहेको उद्योगमा पार्टी, क्याजुअल, बच्चा, कलेज तथा स्कुल स्पोर्टसलगायतका जुत्ता उत्पादन हुने गरेको छ।

दिगो बजार तथा स्थानीय कच्चा पदार्थमा आधारीत व्यवसायको निरन्तरताबाट नै कुनै पनि कम्पनीको संस्थागत विकास र व्यवसायिकता निरन्तरता स्थापित हुने भन्दै तोलाङ्गले आगामी दिनमा पीजी सुज ब्रान्डका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पनि पुर्याउने बताए। पारागन फुटवेयरले परम्परागत प्रविधि र नयाँ प्रविधिको समिश्रणबाट उत्पादित नेपाली जुत्ताहरु वास्तवमा भौगोलिक विकटता र नेपालीको क्रयशक्तिलाई समेत ध्यान दिएर पीजी सुज ब्रान्डका जुत्ता उत्पादन गरिएको उनले बताए।

सामान्य नागरिकदेखि कर्मचारी, विद्यार्थी, सेना, प्रहरीलगायतको आवश्यकतालाई ध्यान दिएरै पारागन फुटवेयर उद्योग स्थापना भएको हो। तोलाङ्गले पारागन ब्रान्डका जुत्ताहरु अन्तर्राष्ट्रिय ब्रान्डसँग कुनै पनि हालतमा कमजोर छैनन् भन्ने कुरा आमउपभोक्ताले बुझिसकेका कारण कम्पनीको रजत वर्ष पूरा गर्ने यात्रा सम्भव भएको बताए।

नेपाली हातहरुले बनाइएका जुत्ताहरु आजका नेपाली उपभोक्ताले मात्र होइन विदेशी उपभोक्ताले समेत मन पराउन थालेको भन्दै तोलाङ्गले बलियो, राम्रो र सस्तोमा नेपाली जुत्ताहरु पाइनुले पनि यसप्रति दिनानुदिन आकर्षण बढ्दै गएको बताए। नेपाली जुत्ता उत्पादन गर्ने उद्योगहरुले अझ नयाँ प्रविधि भित्र्याउन सके निश्चय नै नेपाली उद्योगहरुले विदेशी उत्पादनसँग पनि प्रतिस्पर्धा गर्न सक्षम हुने उनको विश्वास छ।

नेपाली जुत्ता उत्पादन गर्ने जति पनि उद्योगहरु छन् उनीहरुले नेपाली उपभोक्तालाई मध्यनजर राखेर उत्पादन गर्ने तथा अन्तर्राष्ट्रिय चाहना र रोजाइलाई समेत ध्यान दिएर आकर्षक, सस्तो र राम्रो वस्तु उत्पादन गर्न सके नेपाली उद्योगहरुको भविष्य राम्रो रहेको उनले बताए। आधुनिक किसिमका छालाका जुत्ता तथा छालाजन्य वस्तु उत्पादनको गुणस्तरीयतामा पारागनले कुनै कन्जुसाई नगरेका कारण अहिले आमनेपाली उपभोक्तामा नेपाली ब्रान्ड सस्तो र राम्रो छ भन्ने बलियो धारणा बनिसकेको उनको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here