आठौं बन्दै टुंगियो नेपालको जिम्बावे यात्रा, आयरल्याण्डसँग दुई विकेटले पराजित

काठमाडौं । नेपाली क्रिकेट टोली आयरल्याण्डसँग पराजित भएको छ। मंगलवार जिम्बावेमा विश्वकप छनोटअन्तर्गत प्लेअफको सातौँ स्थानको लागि भएको खेलमा नेपाल आयरल्याण्डसँग २ विकेटले पराजित भएको हो।

विश्वकप पुग्ने होडबाट बाहिरिसकेका आयरल्याण्ड र नेपालले क्रमश सातौँ र आठौँ बन्दै प्रतियोगिता टुंग्याएको हो।

हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा जितका लागि पाएको २६९ रनको चुनौती आयरल्याण्डले ४९.२ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो ।

शुरुआत राम्रो गर्न नसकेको आयरल्याण्डले ६० रन जोड्दा ३ विकेट गुमाएको थियो । तर त्यसपछि भने मध्यक्रमले धानेको थियो । यद्यपि अन्तिम ओभरसम्म खेल रोमाञ्चक बनेको भए पनि आयरल्याण्डले जित हासिल गर्यो ।

कर्टिस क्याम्फरले ६२ तथा ह्यारि टेक्टरले ६० रन बनाएको इनिङ्समा नेपालका लागि करण केसीले ४ तथा किशोर महतोले २ विकेट लिए पनि गुल्सन झा र सन्दीप लामिछानेले १–१ विकेट लिए ।

यसअघि टस हारेर नेपालले पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा २६८ रन बनायो । गुल्सन झा चम्केको इनिङ्समा नेपालले सम्मानजनक योगफल बटुलेको हो । गुल्सनले ४२ बलमा ३ छक्काको मद्धतले ५७ रन जोडे ।

त्यस्तै अर्जुन साउदले ८४ बलमा ४८, कुशल मल्लले ३८ बलमा ४४ तथा सन्दीप लामिछानेले ३० बलमा ३२ रन बनाए । आयरल्याण्डका लागि मार्क अदैर, बेरी म्याककार्थी र क्रेग यङ्गले २–२ विकेट लिए ।

दुवै टोली विश्वकपका लागि सुपर सिक्समा पुग्न नसकेपछि सातौँ स्थानका लागि भिडेका थिए । दुवै टोली पहिलो पटक आमने सामने भएका हुन् । नेपालले यो खेल जितेको भए पहिलो पटक एक दिवसीयमा टेष्ट मान्यता प्राप्त राष्ट्रलाई हराउने थियो ।

नेपालले सातौँ स्थानको लागि भएको प्लेअफ सेमिफाइनल खेलमा आइतबार यूएईलाई ३ विकेटले हराएको थियो । आयरल्याण्डले अमेरिकालाई हराएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here