काठमाडौं, ९ भदौ । नेपाली बजारमा छापावल सुनको मूल्य इतिहासकै महङ्गो भएको छ ।
यो भन्दा अगाडि ७२ हजार ५ सय रुपैयाँ सबैभन्दा धेरै मूल्य कायम भएको छापावल सुनमा सोमवार १ हजार रुपैयाँले वृद्धि भएसंगै सुनको मूल्यले रेकर्ड कायम राखेको हो ।
आइतबार प्रतितोला ७२ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको मूल्यमा सोमवार प्रतितोला १ हजार रुपैयाँले वृद्धि भएससँगै नेपाली बजारमा सुनको मूल्य ७३ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
यो सङ्गै नेपाली बजारमा छापावल सुनको मूल्य प्रतितोला ७३ हजार ५ सय रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुन प्रतितोला ७३ हजार २ सय रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला ८ सय ६० रुपैयाँ कायम भएको छ ।
सुनको कारोबार घटेपछि बैंकमा रहेको सुन विक्री भएको छैन । सुन विक्री नभएपछि बैंकले सुन आयात रोकेका छन् । असार २० देखि बैंकले सुन आयात गरेका छैनन । गत सातासम्म बैंकमा ७ सय ७० किलो सुन थुप्रिएको बैंकर्स संघले जनाएको छ ।
सुन महङ्गो भएपछि पुराना गहना विक्री गर्ने क्रम बढेको व्यवसायीहरुले बताएका छन् । व्यवसायीले पनि महङ्गो मूल्यमा सुन खरिद गरेर स्टक राख्न छोडेका छन् ।
नेपाल सुनचाँदी महासंघले सुनको मूल्यमा अझै वृद्धि हुने बताउदै आएको थियो ।