निजी क्षेत्रका छाता संगठनले भन्यो-‘उद्यमी व्यवसायीलाई अमर्यादित व्यवहार नगर्नू’

काठमाडौं । निजी क्षेत्रले उद्यमी व्यवसायीलाई अमर्यादित व्यवहार नगर्न आग्रह गरेको छ।

नेपाल उद्योग वाणिज्य संघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कसमर्शले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै उद्यमी व्यवसायीलाई अमर्यादित व्यवहार गर्ने तथा थुनामा राख्ने जस्तो कार्य नगर्न आग्रह गरेको हो।

पछिल्लो समयमा भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङसहित विभिन्न व्यवसायीलाई दोषी ठहर नहुँदै लगेर थुनिएको घटनाप्रति आपत्ति जनाउँदै तीन छाता संगठनले यस्तो विज्ञप्ति जारी गरेका हुन् ।

‘कानुन विपरीत काम गरेको प्रमाणित भएमा जो कोही पनि कारबाहीको भागिदार हुनुपर्छ। तर आरोप लाग्दैमा उद्यमी व्यवसायीलाई अमर्यादित व्यवहार गर्ने, थुन्ने जस्ता कार्य गर्नुहुँदैन,’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्ता कार्यले निजी क्षेत्रलाई कमजोर बनाउने मात्रै नभई समग्र मुलुकको आर्थिक विकासमा नकारात्मक असर पर्छ।’

अदालतले दोषी ठहर नगर्दै व्यवसायीलाई थुन्ने कार्यबाट निजी क्षेत्र त्रसित भएको छ उनीहरूले बताएका छन्।

कुनै पनि विषयमा आरोप लागेपछि व्यवसायीलाई थुनिहाल्ने नभएर राज्यले व्यवसायीका कुरा सुनिदिनु पर्ने उनीहरूको माग छ।

आरोप लागेका व्यवसायीलाई अग्रिम जमानत लिने र आरोप प्रमाणित भएपछि मात्रै कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन निजी क्षेत्रले आग्रह गरेको छ।

मुलुकको अथर्तन्त्रमा ८१ प्रतिशत हिस्सा निजी क्षेत्रको छ।

न्यून मागका कारण लगानी विस्तार हुन नसक्दा कुल गार्हस्थ्य उत्पादन अपेक्षितभन्दा ६ प्रतिशत बिन्दु कम भएको छ भने राजस्व संकलन गत वर्षभन्दा १३ प्रतिशतले घटेको छ। १० महिनायता मूल्य वृद्धिदर ७ प्रतिशत माथि छ।

देशको अर्थतन्त्रको प्रमुख संवाहक रहेका उद्यमी व्यवसायीमाथि पछिल्लो समयमा भइरहेको धरपकडले पनि लगानी थप निरुत्साहित हुन सक्ने देखिएको उद्योगीहरूको भनाइ छ।

यस्तो छ विज्ञप्ति

निजी क्षेत्रको आग्रहः व्यवसायी हतोत्साही नहोउन् ।

मुलुकको अथर्तन्त्रमा ८१ प्रतिशत हिस्सा रहेको निजी क्षेत्र अहिले समस्यामा छ । न्युन मागका कारण लगानी विस्तार हुन नसक्दा कुल गार्हस्थ्य उत्पादन अपेक्षित भन्दा ६ प्रतिशत विन्दु कम भएको छ भने राजश्व संकलन गत बर्षभन्दा १३ प्रतिशतले घटेको छ । दश महिनायता मुल्य वृद्धिदर ७ प्रतिशत माथि छ ।

उद्यम, व्यवसाय संकुचित हुँदा अर्थतन्त्रमा वहुआयामिक असर परेको हो । देशको अर्थतन्त्रको प्रमुख संवाहक रहेका उद्यमी व्यवसायीमाथि पछिल्लो समयमा भइरहेको धरपकडले पनि लगानी थप निरुत्साहित हुन सक्ने देखिएको छ ।

कानून विपरित काम गरेको प्रमाणित भएमा जो कोही पनि कारबाहीको भागिदार हुनुपर्छ र कारबाही गरिनुपर्छ । तर कुनै पनि विषयमा आरोप लाग्दैमा उद्यमी व्यवसायीलाई अमर्यादित व्यवहार गर्ने, थुन्ने जस्ता कार्य गर्नुहुदैन । यस्ता कार्यले निजी क्षेत्रलाई कमजोर बनाउने मात्रै नभई समग्र मुलुकको आर्थिक विकासमा नकारात्मक असर पर्न सक्नेतर्फ सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन चाहन्छौं ।

सम्मानित अदालतले दोषी ठहर नगर्दै कुनै पनि व्यवसायीलाई थुन्ने जस्ता कार्यबाट निजी क्षेत्र पनि त्रसित हुन पुगेको हामीलाई महसुस भएको छ । त्यसैले कुनै पनि विषयमा आरोप लागेपछि व्यवसायीलाई थुनिहाल्ने नभएर राज्यले व्यवसायीका कुरा सुनिदिनुपर्छ भन्ने हाम्रो आग्रह हो । राज्यको यस्तो प्रबृत्तिले उद्यमी व्यवसायीको मनोबल कमजोर भई हतोत्साही हुने तथा मुलुकको अर्थतन्त्र संकटमा रहेका बेला साना ठूला व्यवसायी एवं उद्यमीप्रतिको यस्तो व्यवहारले नकारात्मक असर पर्ने भएकाले आवश्यक परेमा अग्रिम जमानत लिने र आरोप प्रमाणित भएपछि मात्रै कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन निजी क्षेत्र हार्दिक आग्रह गर्दछ ।

मिति २०८०/०३/२४

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here