नबिल बैंकले पुरा गर्यो ३९ बर्ष,दिगो र डिजिटलाइज्ड बैंकिङलाई अझ सबल बनाइने

काठमाडौं । नबिल बैंक लिमिटेडले ३९ वर्ष पूरा गरेको छ । १२ जुलाई सन् १९८४ मा स्थापना भएको बैंकले ग्राहकको सुविधा तथा सरल बैंकिङ सेवालाई केन्द्रमा राखेर आफ्नो पृथक चिनारी बनाएको बैंकले जनाएको छ ।

वार्षिकोत्सवकोे अवसरमा बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकलाई निरन्तर सर्वोत्कृष्ट बनाएकोमा बैंकका कर्मचारीलाई धन्यवाद दिए । त्यस्तै बैंकप्रति अटुट भरोसा राखिएकोमा ग्राहकहरूलाई आभार प्रकट गर्दै यस्तै भरोसा राख्ने वातावरण बैंकले निरन्तर बनाउने प्रतिबद्धता व्यक्त गरे ।

दिगो र डिजिटलाइज्ड बैंकिङलाई अझ सबल बनाउँदै ग्राहकलाई सुविधा दिन तत्पर रहने उनले बताए ।

सरल र ग्राहकमैत्री सेवा दिने क्रममा प्रविधिको प्रयोगलाई मुख्य प्राथमिकता दिँदै आएको बैंकले जनाएको छ । बैंकले नेपालमा पहिलो पटक कम्प्युटराइज्ड बैंकिङको सुरु गरेको थियो ।

नबिलले सन् १९९४ मा पहिलो पटक एटीएम सर्भिसको सुरुवात गरेको थियो । त्यस्तै गरी सन् २०१२ मा पहिलो पटक मोबाइल बैंकिङको सुरु गरी मोबाइलबाट बैंकिङ सुविधा लिने प्रविधि भित्राइएको थियो ।

बैंकले २०१४ मा अन्तर्राष्ट्रिय मास्टर कार्ड तथा डेबिट कार्डमा स्मार्ट चिप समावेश गरेको थियो । सन् २०१६ सालमा नबिलले कन्ट्याकलेस पेमेन्ट कार्ड नेपालमा पहिलो पटक ल्याएको थियो ।

त्यस्तै नबिलले पछिल्लो पटक सन् २०२२ सालमा एन बैंकको सुरुवात गरेर नेपालमा पहिलो पटक नियो बैंकिङको सुरु गरेको थियो ।

नबिल बैंक नेपालको एक अग्रणी बैंक हो जसको कुल निक्षेप ३७८ अर्ब रुपैयाँ तथा कुल कर्जा ३४० अर्ब रुपैयाँ रहेको छ । नबिलले २० लाख भन्दा बढी सेवाग्राहीहरूलाई सेवा प्रदान गर्दै आएको छ ।

हाल बैंकको शाखा विस्तार भई २ सय ६४ शाखा र २ सय ९८ एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here