नेपालमा रासायनिक मल कारखाना स्थापना गर्न सम्झौता

काठमाडौं । नेपालमा रासायनिक मल कारखाना स्थापना सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड नेपाल र डीअनइजी इन्डष्ट्रिज जीएमवीएचबीच आज एक समझदारी भएको छ। समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र प्रबन्ध निर्देशक बेन्जामिन व्रेकरले हस्ताक्षर गरे ।

सार्वजनिक निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को व्यवस्था अनुसार, डीआइएजी इन्डष्ट्रिज जीएमवीएचबीचको प्रस्तावका आधारमा लगानी बोर्डको मिति २०७८ चैत्र १७ मा सम्पन्न ५० औँ बैठकले अध्ययन अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको थियो। साथै प्रस्तावकसँग गरिने समझदारीपत्रको मस्यौदा मिति २०७९ चैत ३० मा सम्पन्न लगानी बोर्डको ५३ औँ बैठकबाट स्वीकृत भएको थियो। समझदारीपत्रको प्रावधान बमोजिम प्रस्तावकले अनुमतिपत्र प्राप्त गरेको २४ महिना भित्र विस्तृत सम्भाव्यता अध्ययन लगानी बोर्डको कार्यालयसमक्ष पेश गर्नुपर्नेछ।

प्रस्तावकले नेचुरल ग्यास इलेक्टोलाइसिस अथवा हाइबिर्ड उल्लिखित दुबै प्रविधि मध्ये एउटा उपयुक्त प्रविधि प्रयोग गरी वार्षिक सात लाख टन रासायनिक मल (युरिया) उत्पादन गर्ने प्रस्ताव गरेको छ। उल्लिखित प्रविधि र क्षमतामा रासायनिक मल उत्पादनका लागि अमेरिकी डलर ७१४ मिलियन लागत लाग्ने प्रारम्भिक अनुमान रहेको छ।

साथै आगामी आर्थिक वर्ष २०८०९८१ को बजेटमा लगानी बोर्डको सहजीकरणमा सार्वजनिक९निजी साझेदारीमा नेपालमा रासायनिक मल कारखाना स्थापना सम्बन्धी विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने व्यवस्था उल्लेख रहेको छ।

उक्त समझदारीपत्रमा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतले विश्वसनीय अध्ययनले जोखिम न्यूनीकरणसहित परियोजनाको कार्यान्वन र दिगो रुपमा सञ्चालन गर्ने मार्गचित्र प्रदान गर्ने भएकाले तोकिएको समयभित्र सम्भाव्यता जाँचसहितको प्रतिवेदन पेश गर्न प्रस्तावकलाई आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here