७० वर्षमाथिका वृद्धवृद्धालाई हवाई भाडामा ५० प्रतिशत छुट

काठमाडौं, ९ भदौ । सरकारले ७० वर्षभन्दा माथिका वृद्धवृद्धालाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले सोमबार आफ्नो एक वर्षे कार्ययोजना सार्वजनिक गर्दै ७० वर्षभन्दा माथिका वृद्धवृद्धालाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेका हुन्।

नेपाल वायुसेवा निगममा तत्काल यो व्यवस्था लागु गर्ने र निजी क्षेत्रका एयरलाइन्सहरुसँग पनि छलफल गरी लागु गर्ने तयारी भएको बताइएको छ ।

मन्त्री भट्टराईले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भिजिट नेपाल २०२० लाई भव्य रुपमा सफल बनाउने पनि घोषणा गरेका छन् ।

यूरोपियन युनियनको सिग्निफिकेन्ट सेफ्टी कन्सर्नको पूर्वसर्त पूरा गरी नेपाली हवाईक्षेत्रलाई उक्त सूचीबाट हटाउने काममा लागिपर्ने पनि मन्त्री भट्टराईले बताए ।

‘नेपालको नागरिक उड्डयन क्षेत्रलाई युरोपियन युनियनको सिग्निफिकेन्ट सेफ्टी कन्सर्न एसएससी बाट हटाउन आवश्यक पूर्वशर्तहरु पूरा गर्ने तथा यसका लागि नागरिक उड्डयन क्षेत्रका नियामक र सेवाप्रदायक निकायको अलग अलग व्यवस्था हुने गरी नयाँ कानुनहरु तर्जुमा गरिनेछ’ उनले भने ।

त्यस्तै मन्त्री भट्टराईले त्रिभुवन विमानस्थलको सुधारको कार्ययोजना पनि प्रस्तुत गरेका छन् । सबै प्रदेश राजधानीका विमानस्थलको स्तरोन्नती गर्ने, गौतमबुद्ध र पोखरा विमानस्थलको काम समयमै सम्पन्न हुने बताउँदै मन्त्री भट्टराई अबको तीन महिनापछि गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल उडानको लागि तयार हुने बताए ।

साथै गौतमबुद्ध विमानस्थलमा उडान गर्ने एयरलाइन्सहरुलाई प्रोत्साहन गर्न इन्सेन्टिभ प्याकेज दिने पनि उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here