अटो शो उद्घाटन गर्दै अर्थमन्त्रीले भनेः विद्युतीय सवारी उत्पादन गर्नुस् सरकारले संरक्षण गर्छ

काठमाडौं, १० भदौ । अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय सवारी साधन उत्पादन गर्ने कम्पनीलाई सरकारले विशेष सहुलियत दिने बताएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको नाडा अटो शो उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले आयातित सवारीसाधनमा मात्रै भर नपरी नेपालमै एसेम्बलिङ प्लान्ट राखेर सवारी उत्पादन गर्नुपर्ने बताएका हुन् ।

उनले सरकारले विद्युतीय सवारी उत्पादन गर्ने वा एसेम्बलिङ गर्ने कम्पनीलाई सरकारले २० देखि २५ प्रतिशतसम्म छुट दिने घोषणा गरे ।

शको विकासको लागि अटोमोबाइल्स चाहिने तर कुन अनुपातमा आवश्यक छ भन्ने कुरामा ध्यान दिनुपर्ने उनको भनाई थियो ।

‘हाम्रो जस्तो विकाशोन्मुख राष्ट्रलाई अटोमोबाइल्स आवश्यक छ हुन्छ,’ उनले भने, ‘तर कुन अनुपात र कति संख्यामा अटोमोबाइल्स भित्र्याउने भन्ने कुरामा ध्यान दिनुपर्छ ।’

गएको १० वर्षमा मात्रै नेपालमा सवारी ४ गुणा बढी भएको तथ्यांक पेश गर्दै उनले व्यावसायीहरुलाई नेपालमै एसेम्बलिङ प्लान्ट राखेर सवारी उत्पादनमा जोड दिन आग्रह गरे ।

यसरी उत्पादन गर्दा २० प्रतिशतभन्दा धेरै मूल्य वृद्धि हुनेगरी सवारी उत्पादन गरेमा सरकारले सहयोग गर्ने पनि बताए ।

‘नेपालमा अटोमोबाइल्स उत्पादन गर्दा २० प्रतिशतसम्म मूल्य वृद्धि हुनेगरी गर्नुस् सरकारले पूर्ण रुपमा सहयोग गर्छ,’ उनले भने, ‘५÷१० प्रतिशत मात्रै मूल्यवृद्धिको लागि सरकारले भन्सार करलाई ठप्प बनाउन सक्दैन् ।’

उद्घाटन कार्यक्रममा बोल्दै नाडा नेपालका अध्यक्ष शम्भु प्रसाद दाहालले नेपालको सडक मर्मतमा विशेष ध्यान दिनुपर्ने उल्लेख गरे ।

‘आटोमोबाइल्स खरीदमा सडक निर्माणको लागि मात्रै ६ देखि ७ प्रतिशत रकम भन्सारमा बुझाउनुपर्छ तर, त्यसको काम भएको पाइदैन्,’ उनले भने, ‘यसमा सरकार गम्भीर हुन आवश्यक छ । सडक राम्रो भएमा मात्रै पनि सडक दुर्घटना धेरै कम हुन्छ ।’

भदौ १५ गतेसम्म चल्ने अटो शोमा १९ वटा ब्राण्डका दुई पाङ्ग्रे र २३ ब्राण्डका ४ पाङ्ग्रे सवारीसाधनका स्टल रहेका छन् ।

त्यस्तै सवारीसाधन बाहेक १२ ब्रान्डका लुब्रिकेट, ९ ब्रान्डका टायर, ५ वटा ब्रान्डका ब्याट्री , १४ वटा पार्टपुर्जा एवं ग्यारेज उपकरणका कम्पनी तथा १३ वित्तीय संस्थाले भाग लिएका छन् ।

प्रदर्शनीमा ठूला तथा साना गरि १६० वटा स्टल रहेको छ ।

अटो शोमा सर्वसाधारणका लागि २०० रुपैयाँ र विद्यार्थीको लागि १५० रुपैयाँ प्रवेशशुल्क तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here