साउन ३१ देखि हकप्रद सेयर निष्काशन गर्दै अपि पावर

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले साउन ३१ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत अर्थात् १०:४ अनुपातमा हकप्रद सेयर बिक्रीमा ल्याउने भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयँँ दरले १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० रुपैयाँ बराबरको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको हो ।

लगानीकर्ताले कम्पनीको हकप्रद सेयरमा भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रदमा अपि पावर, मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा, नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीले हकप्रद प्रयोजनका लागि असार २२ गते बुकक्लोज गरेको थियो । सो अनुसार असार २१ गतेसम्म कायम रहने सेयरधनीले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल मार्केट लिमिटेड रहेको छ। हकप्रद निष्काशनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी प्लस इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

कम्पनीले हाल सञ्चालन गरी गरिरहेको आयोजनाहरुको ऋणमोचन गर्न हकप्रद सेयर निष्काशन गर्न लागेको हो। कम्पनीले हाल ५ वटा आयोजना संचालन गरिरहेको छ ।

जसमा ८ मेगावाटको अप्पर नौगड गाढ जलविद्युत आयोजना, ८.५ मेगावाटको गौगड गाढ जलविद्युत आयोजना, ४ मेगावाटको चन्द्रनिगाहपुर सौर्य विद्युत आयोजना र १.१ मेगावाटको ढल्केबर सौर्य विद्युत आयोजना र सिमरा सौर्य विद्युत आयोजना रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here