सिम्रिक एयरका सबै उडानमा रोक

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै उडानमा रोक लगाएको छ। प्राधिकरणलाई तिर्नुपर्ने ४६ लाख रुपैयाँ नतिरेकाले शुक्रबारदेखि कम्पनीका सबै हेलिकोप्टरको उडान रोक्ने निर्णय गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।

प्राधिकरणको टोलीले गरेको वित्तीय अडिटबाट सिम्रिक एयरको वित्तीय अवस्था पनि कमजोर देखाएकाले सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै उडान रोकिएको उनको भनाइ छ।

‘सिम्रिक एयरको वित्तीय अवस्थाका कारण पाइलट तथा कर्मचारीको पारिश्रमिक नै नपाउने अवस्था हुनु उडान सुरक्षाका दृष्टिकोणले गम्भीर मानिन्छ, त्यसैले प्राधिकरणले सिम्रिक एयरका सबै हेलिकोप्टरको उडानमा रोक लगाइएको हो,’ सूचना अधिकारी भूलले भने।

नागरिक उड्डयन निमयावली–२०५८ र विमानस्थल सेवा शुल्क नियमावली–२०७८ बमोजिम सिम्रिक एयरको उडानमा रोक लगाइएको हो। भुलका अनुसार बक्यौता नतिरेसम्म उडान रोकिनेछ।

सिम्रिक एयरसँग रहेका चार हेलिकोप्टरमध्ये एक बिग्रिएको र बाँकी तीनले उडान भर्दै आएका थिए। कम्पनीसँग दुई वटा बेल र दुई वटा एएस ३५० हेलिकोप्टर छन्। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here