३५ हजार भाडामा नेवानिले साउदीको दमाममा नियमित उडान गर्दै

३ भदौ, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले साउदी अरेबियाको दमाममा सिधा उडान गर्ने भएको छ। निगमका प्रवक्ता रमेश पौडेलका अनुसार आगामी भदौ २० गतेदेखि काठमाडौंबाट दमाममा नियमित सिधा उडान गर्ने गरी शनिबारबाट टिकट बुकिङ खुला गरिएको हो।

नेपाल एयरलाइन्सको यो ११औं अन्तर्राष्ट्रिय उडान गन्तव्य हो। यसअघि निगमले साउदी अरेबियाको रियादमा पनि उडान गरिरहेको थियो। उडान तालिकाअनुसार काठमाडौं–दमाम–काठमाडौं सेक्टरमा निगमले साताको दुई दिन बुधबार र शनिबार उडान गर्ने र बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार उडानको संख्या बढाउँदै लैजाने योजना रहेको निगमका प्रवक्ता पौडेलले जानकारी दिए।

काठमाडौं–दमामको प्रवर्द्धनात्मक भाडादर ३५ हजार रुपैयाँ तोकिएको छ। दमाम–काठमाडौंका लागि भने पाँच सय ९६ साउदी रियाल तोकिएको छ। निगमको उडान विस्तारबाट नेपालीहरूको बाहुल्यता रहेको साउदीबाट नेपाल आवागमन सहज र सुलभ हुने विश्वास गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here