नेपाल र भारतबीचको बहुप्रतीक्षित खेल आज, वर्षा बाधक बन्ने सम्भावना उच्च

काठमाडौं । एसिया कप समूह ए को अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दै छ । खेल आज दिउँसो सवा ३ बजे श्रीलङ्काको क्याण्डीमा हुनेछ ।

समूह ए बाट पाकिस्तान ३ अंकसहित सुपर फोरमा पुगिसकेको छ । यता भारतले १ अंक जोडेको छ । भने पाकिस्तानसँग पराजित भएको नेपाल अंक विहीन छ ।

भारतविरुद्ध पहिलोपटक मैदान उत्रिन लागेको नेपाल जित्नै पर्ने दबाबमा छ। प्रतियोगिताको अर्को चरण (सुपर–फोर)मा पुग्न नेपालले भारतसँगको खेल जित्नै पर्नेछ।

पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो। यद्यपि, आजको खेल अवरुद्ध हुने सम्भावना पनि उत्तिकै छ। ईएसपीएन क्रिक इन्फोका अनुसार आजको खेलमा ८० प्रतिशतसम्म वर्षाको सम्भावना छ। वर्षाका कारण खेल रद्द भएमा अङ्क बाँडफाँट हुन्छ र दुई अङ्क सहित भारत सुपर फोरमा पुग्नेछ।

तर, नेपाललाई सबैभन्दा ठूलो घाटा भने भारत जस्तो टोली विरुद्ध परीक्षित हुने अवसरबाट वञ्चित हुनु हो। ‘अनुभवका लागि प्रतिस्पर्धात्मक मानसिकताका साथ भिड्ने’ नेपालको उद्देश्य वर्षाकै कारण पूरा नहुने सम्भावना छ।