काठमाडौं प्रशासनले भन्यो- ‘कानूनको दृष्टिमा सबै समान छन्, जथाभावी वक्तव्यबाजी नगर्नू’

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्मचारीलाई कर्तव्य पालनामा बाधा अवरोध नपुर्‍याउन साथै सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्न आग्रह गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले आज प्रेस विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् । शनिबार राति काठमाडौं महानगरका मेयर बालेनको गाडी ट्राफिकले चेकजाँच गरेपछि उत्पन्न परिस्थितिलाई लक्षित गर्दै विज्ञप्ति जारी गरेको हो ।

‘असल मनसायबाट सम्पादन भएका सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवकहरूलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालहरुमा व्यक्त भएका अभिव्यक्तिहरुप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।

यसर्थ आफ्नो पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न लागेका राष्ट्रसेवक कर्मचारीहरुलाई कर्तव्य पालनामा बाधा अवरोध नपुयाउनु हुन र विभिन्न सामाजिक सञ्जालहरुमा जथाभावी वक्तव्यबाजी नगर्नु नगराउनु हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ ‘, प्रशासनको विज्ञप्तिमा उल्लेख छ ।

सहायक सीडीओ खड्गबहादुर श्रेष्ठद्वारा जारी विज्ञप्तिमा सरकारी स्रोत साधनको दुरुपयोग हुन नदिन सार्वजनिक बिदाका दिनमा सरकारी सवारी साधनको सञ्चालनमा निगरानी र नियन्त्रण गर्ने कार्य सबै जिल्ला प्रशासन कार्यालयहरु मार्फत् विगतदेखि नै हुँदै आएको स्मरण गराइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारी कामका लागि बिदाका दिनमा सरकारी सवारी साधन प्रयोग गर्नुपर्दा तोकिएका अधिकारीबाट जारी भएको सवारी पास प्रयोग गर्न पाउने स्पष्ट व्यवस्था रहेको छ ।

यसबाट निजी काममा सरकारी सवारी साधनको प्रयोगमा कमी आई मितव्ययिता अभिवृद्धि गर्न मद्दत पुगेको कुरा निर्विवाद छ ।

लोकतन्त्र र विधिको शासनले कानुनको दृष्टिमा सबै समान रहेको भन्दै प्रचलित कानुनको बर्खिलाप गरिने जुनसुकै गतिविधि नियन्त्रण गर्न र विधिको शासन प्रत्याभूत गर्न स्थानीय प्रशासन तथा सुरक्षा निकाय प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here