एटीएम ह्याक गरी पैसा लुट्ने अर्का एक चिनियाँ विमानस्थलबाट पक्राउ

काठमाडाैं, १६ भदाै । नेपालका विभिन्न बैंकहरूकाे एटिएम प्रणाली नै ह्याक गरी कराेडाैं रूपैयाँ चाेरी गर्ने चिनियाँ गिरोहका एक अर्का व्यक्ति पनि त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडाैंका अनुसार आइतबार राति सु लुसिङ नाम गरेका ती लुटेरा समूहका सदस्यलाई त्रिभुवन विमानस्थलबाट भाग्दै गर्दा पक्राउ गरिएको हाे ।

विशेष निगरानीको आधारमा उनलाई महानगरीय प्रहरीको टोलीले पक्राउ गरेको बताइएकाे छ । नक्कली भिसा कार्ड प्रयोगबाट विभिन्न बैंकहरुको एटीएम प्रणाली ह्याक गरी एटिएम बुथबाट करोडौं रकम निकाल्ने कार्यमा संलग्न ५ जना चिनियाँ नागरिकलाई शनिबार प्रहरीले पक्राउ गरिसकेको छ ।

अन्य ५ चिनियाँ यसरी पक्राउ परेका थिए

दरबारमार्गका विभिन्न एटीएम बुथहरुमा सामान्य दिनभन्दा धेरै मात्रामा पैसा निस्कन थालेपछि केही गडबड भएको आशंकामा बैंकका कर्मचारीले यस बारेमा प्रहरीलाई खबर गरे । खबर पाएपछि तुरुन्तै महानगरीय अपराध महाशाखाका प्रहरी नायब उपरिक्षक होबिन्द्र बोगटीको नेतृत्वमा प्रहरी टोली परिचालित भयो ।

प्रहरीले दरबारमार्गको नबिल बैंकको एटीएम बुथबाट पैसा निकालिरहेको अवस्थामा प्रहरीले एकजनालाई फेला पार्यो ।

चिनियाँ नागरिक झु लियानगाङ नामका पासपोर्ट नम्बर इसी१९३७५५८ भएका ती व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रममा उसको साथबाट २० थान नक्कली भिसा कार्ड फेला पर्यो ।

उसले आफू बस्ने होटलको चाबी समेत देखाएपछि तत्काल हात्तिसार स्थित माया मनोहर बुटिक होटलको कोठा नम्बर २०१, ६०२ र ६०४ मा खानतलासी गर्ने क्रममा हतार हतार लिफ्टबाट भाग्दै गरेको अवस्थामा अन्य चार जना चिनियाँ नागरिकहरु पक्राउ परे ।

पक्राउ पर्नेमा लिन जियानमेङ पासपोर्ट नम्बर इ३२३७७७१३, लुओ जियालेइ पासपोन नम्बर इ०९५५२६३७४, क्यु युनकिङ पासपोर्ट नम्बर इएच०२७७६५०, चेन बिन बिन पासपोर्ट नम्बर इ८९०५६८२५ रहेका छन् ।

ती ५ जना चिनियाँहरुबाट सुटकेस र झोलामा गन्न समेत नभ्याएको अवस्थामा प्रहरीले १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ बरामद गरेको बताएको छ ।

त्यस्तै, ९ हजार १ सय ८ अमेरिकी डलर, ११ सय ९१ चाईनिज मुद्रा, २ सय ५० यूरो, ५ हजार क्याम्बोडियन साथै ८० हङकङ डलर बरामद गरेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार उनीहरुको साथबाट पैसा बाहेक १३२ थान नक्कली भिसा कार्ड, १७ थान सक्कली भिसा कार्ड, कार्ड प्रिन्टर मेसिन १ थान, ६ थान मोबाईल, ल्यापटप, डाटा कार्ड लगायतका सामान पनि बरामद भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here