एटीएम ह्याक प्रकरणः नेपाली पनि संलग्न भएकाे आशंका

काठमाडौं, १६ भदौ । गत शनिवार बेलुका नेपालका विभिन्न बैंकका एटीएम सिस्टम ह्याक गरी कराैडाै रूपैयाँ चाेरी प्रकरणमा नेपाली नागरिककाे पनि संलग्नता रहेकाे प्रहरीले आशंका गरेकाे छ ।

ह्याकिङ प्रकरणमा नेपाल र भारतका एटीएमबाट नक्कली भिसा कार्डकाे प्रयाेग गरी साँढे तीन कराेड रूपैयाँ भन्दा बढी निकालेको भेटिएको छ ।

त्यसमध्ये नेपालकाे एटीएमबाट एक कराेड ७६ लाख ८५ हजार पाँच सय रूपैयाँ र भारतबाट एक कराेड ५ लाख ३४ हजार दुइ सय भारू (एक कराेड ६८ लाख नेरू) निकालिएकाे छ ।

पैसा निकाल्ने क्रममा नेपालमा सात सय पटक र भारतमा एक हजार पटक कार्ड स्वाइप गरेकाे नेप्सले बताएकाे छ ।

ह्याकिङमा पक्राउ परेका सबै ६ चिनियाँ नागरिक भदौ १३ गते मात्रै चीनबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आएको खुलेको छ ।

ती चिनियाँ नागरिकहरुले यति छिट्टै यति ठुलो काम कसरी चोरी गर्न सके भन्ने कुरा आश्चर्यजनक भएको प्रहरी वरिष्ठ उपरिक्षक तथा प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले बताए ।

‘यस घटनामा नेपाली नागरिकहरुको पनि संलग्नता भएको हुनसक्छ’, उनले भने, ‘यति ठुलो काम आएको एकै दिनमा बिना कुनै तयारी गर्न सकिदैँन ।’

नेपाल प्रहरीले उक्त घटनामा संलग्न ६ जना चिनियाँ नागरिकहरुलाई पक्राउ गरीसकेको छ । प्रहरीले घटनाबारे जानकारी दिन आइतबार दिउँसो पत्रकार सम्मेलन गरी पक्राउ परेका ५ चिनियाँहरुलाई सार्वजनिक गरेकाे थियाे

पक्राउ पर्नेमा चिनियाँ नागरिक झु लियानगाङ पासपोर्ट नम्बर इसी१९३७५५८, लिन जियानमेङ पासपोर्ट नम्बर इ३२३७७७१३, लुओ जियालेइ पासपोन नम्बर इ०९५५२६३७४, क्यु युनकिङ पासपोर्ट नम्बर इएच०२७७६५०, चेन बिन बिन पासपोर्ट नम्बर इ८९०५६८२५ र विमानस्थलबाट आइतबार राती पक्राउ परेका सु लुसिङ रहेका छन् ।

पक्राउ परेका चिनियाँहरुबाट सुटकेस र झोलामा गन्न समेत नभ्याएको अवस्थामा प्रहरीले एक करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ बरामद गरेको थियाे ।

त्यस्तै, नाै हजार एक सय अमेरिकी डलर, ११ सय ९१ चाईनिज मुद्रा, दुइ सय ५० यूरो, ५ हजार क्याम्बोडियन साथै ८० हङकङ डलर बरामद गरेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार उनीहरुको साथबाट पैसा बाहेक १३२ थान नक्कली भिसा कार्ड, १७ थान सक्कली भिसा कार्ड, कार्ड प्रिन्टर मेसिन १ थान, ६ थान मोबाईल, ल्यापटप, डाटा कार्ड लगायतका सामान पनि बरामद भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here