हिले पुग्यो ग्लोबल आईएमई, साना व्यवसायीलाई सहयोग गर्न मेयरको आग्रह

काठमाडौं, १८ भदौ । ग्लोबल आइएमई बैंकले धनकुटा जिल्लाको हिले बजारमा रहेको शाखा कार्यालय मंगलबारदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ ।

धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्ग, नेपाल प्रहरीका एसपी सुदर्शन कोइराला, धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरे र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले मंगलबार आयोजित एक समारोहबीच संयुक्तरुपमा सो शाखाको उद्घाटन गरे ।

उद्घाटन समारोहमा बोल्दै मेयर तामाङ्गले बैंक तथा वित्तीय संस्थाहरुले ठूला उद्योगपतिहरुलाई मात्र नभई साना किसान तथा व्यवसायीलाई पनि सहयोग गर्न आग्रह गरेका छन् ।

त्यसैगरी, बैंकिङ्ग सेवाको पहुँचभन्दा टाढा रहेका अन्य क्षेत्रमा पनि सम्भव भएसम्म बैंक शाखा विस्तार गर्दै तथा शाखा विस्तार गर्न सम्भव नभएका स्थानमा शाखारहित बैंकिङ्ग सेवाका माध्यमबाट सेवा विस्तार गर्दै जाने ढकालको प्रतिवद्धता थियो ।

बैंकले प्रदान गरिरहेका सुविधाहरु जस्तै साना व्यवसायी कर्जा, कृषि कर्जा, घर कर्जा, रेमिट्यान्स सुविधा लगायतका सेवाको माध्यमबाट यस क्षेत्रको आर्थिक सम्वृद्धिमा टेवा पुग्ने विश्वास पनि उनले व्यक्त गरे ।

ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्ससँग एकीकृत कारोबार सुरु गर्न अन्तिम तयारी गरिरहेको बताउँदै ढकालले जनता बैंक नेपालसँग पनि मर्जरमा जाने सहमति गरेको बताए ।

धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष घिमिरेले बैंकले साना तथा स्थानीय व्यवसायीलाई फाइदा पुग्ने बताउँदै बैंकको कर्जा सरल र सुलभ बनाउन पनि आग्रह गरे ।

यस सँगै बैंकको शाखा कार्यालयको संख्या १४२ पुगेको छ । हाल बैंकले १४८ एटीएम, १८४ शाखारहित बैंकिङ्ग सेवा, ३० वटा राजश्व संकलन तथा एक्टेन्सन काउन्टर तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय मार्फत ११ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here