अदुवा उत्पादनमा नेपाल विश्वमै पाँचौं, यी हुन् बढी उत्पादन हुने जिल्ला

काठमाडौं । राज्य र निजी क्षेत्रबाट अदुवामा प्रोत्साहन दिन सके अदुवा निर्यातबाट नेपालले ठूलो लाभ लिन सक्ने देखिएको छ । राज्यको उचित प्राथमिकतामा नपरेकाले यसको उत्पादन र र क्षेत्रफलमा पनि खासै वृद्धि हुन सकेको छैन ।

तरपनि पछिल्ला वर्षहरुमा नेपाल विश्वमै सबैभन्दा बढी अदुवा उत्पादन गर्ने राष्ट्रहको सूचीमा प्रमुख पाँच भित्र पर्छ ।

यो संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ)ले तयार पारेको प्रतिवेदनअनुसार नेपालमा सन् २०२१ मा २ लाख ७९ हजार २०६ मेट्रिक टन अदुवा उत्पादन भएको उल्लेख गरेको छ । पहिलो स्थानमा भारत, नाइजेरिया दोस्रो, चीन तेस्रो र इन्डोनेसियापछि अदुवा उत्पादन गर्ने राष्ट्र नेपाल हो ।

अदुवा विशेष कार्यक्रम सञ्चालन नगरे पनि किसानले आफ्नै स्तरबाट यसको खेती गर्दै आएका छन् । अदुवा ताजा, सुठो र धूलोको रूपमा बिक्री हुन्छ । खान र मसलाबाहेक यो औषधीको रूपमा समेत प्रयोग हुने गरेको छ ।

यसको तेल प्रशाधन सामाग्री बनाउनसमेत उपयोग हुन्छ । नेपाली अदुवालाई ब्रान्ड दिएर प्रशोधन प्लान्ट, संकलन र चिस्यानलगायतका सुविधा स्थापना गर्न सके राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा अदुवाको बजार राम्रो रहेको विज्ञहरुको दाबी छ ।

नेपालका ६५ भन्दा बढी जिल्लामा अदुवा उत्पादन हुन्छ । पश्चिम नेपालको डोटी, कैलाली, सुर्खेत र सल्यान, मध्य नेपालको पाल्पा, स्याङ्जा र नवलपरासी र पूर्वी नेपालको इलाम, झापा र सिन्धुपाल्चोक जिल्ला प्रमुख अदुवा उत्पादन हुने जिल्लाहरू हुन् ।

नेपालले प्रत्येक वर्ष करोडौं रुपैयाँको अदुवा निर्यात गर्ने गरेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो दुई महिना (साउन र भदौ) मात्र मात्र नेपालले ३३ करोड १ लाख ४८ हजार रुपैयाँको अदुवा निर्यात गरेको छ ।

नेपालमा साना‑साना किसानबाट उत्पादन भएको अदुवालाई सरकारले निर्यातमा जोड नदिँदा मूल्यसँगै बजार नपाएको अवस्था छ । उत्पादनको हिसाबले निकै गुणस्तर रहँदा‑रहँदै पनि विभिन्न समस्याले गर्दा भारतबाहेक तेस्रो मुलुकमा निर्यात गर्न सकिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here