शेयर धितो कर्जा सीमामा सामान्य हेरफेर, व्यक्तिगत १५ करोड पुग्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जा सीमामा सामान्य हेरफेर गरेको छ । लगानीकर्ताको दबाब र चौतर्फी रुपमा भएको आलोचना थेग्न नसकेपछि राष्ट्र बैंकले बिहीबार एक निर्देशन जारी गर्दै यसअघि १२ करोड रहेको शेयर धितो कर्जाको व्यक्तिगत सीमा १५ करोड पुर्‍याएको छ ।

धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि यस्तो कर्जाको अधिकतम सीमा २० करोड रुपैयाँ कायम गरिएको छ ।

यस्तो कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह वा नवीकरण गर्दा उक्त सीमा ननाघेको यकिन गरेर मात्र कर्जा प्रवाह र नवीकरण गर्नुपर्ने राष्ट्र बैंकको निर्देशनमा छ ।

तोकिएको सीमा नाघी कर्जा, प्रवाह वा नवीकरण गरेमा बैंक तथा वित्तीय संस्थाले उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकले गत वर्ष कात्तिकबाट लागू हुने गरी शेयर धितो कर्जामा एकल ग्राहक कर्जा सीमा तोकेको थियो। एक ग्राहकले एउटा बैंकबाट चार करोड र पूरै प्रणालीबाट अधिकतम १२ करोड रूपैयाँसम्म कर्जा पाउन सकिने व्यवस्था गरेको थियो।

तर केही महिनाअघि चार करोडको सीमा नै हटाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here