मुगु घटना: अनुसन्धानलाई सहयोग गर्न डीआईजी भीम ढकाल नै घटनास्थलमा

काठमाडौं । मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्बर ५ मुन्दु गाउँमा चार जना मृत भेटिएको घटनास्थलमा डिआइजी भीमप्रकाश ढकाल पुगेका छन्। प्रदेश प्रहरी कार्यालय कर्णाली प्रमुख ढकाल आइतबार मुगु पुगेका हुन्।

अहिलेसम्मको प्रारम्भिक अनुसन्धानबाट चार जनाकै हत्या गरिएको प्रहरीले दाबी गरेको छ । धारिलो हतियार प्रयोग गरिएको र घटनास्थल पुरै रगताम्य भएकाले हत्या गरिएको दाबी प्रहरीको छ ।

शुक्रबार छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो ।

कर्णाली प्रदेश, जुम्ला र कोहलपुरबाट कुकुरसहितको प्रहरीको अनुसन्धान टोली यसअघि नै मुगु पुगेको थियो।

यो टोलीले गत शनिबारदेखि अनुसन्धानको काम जारी राखेको छ।