गुटेरेसको सुरक्षामा अन्नपूर्ण बेसक्याम्प पुगेर फर्किदा असईको लेक लागेर मृत्यु

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि खटिएका प्रहरी सहायक निरीक्षक (असई) टिकाराम ढुंगानाको मृत्यु भएको छ ।

अन्नपूर्ण बेसक्याम्प पुगेर फर्कने क्रममा आज बिहान मृत्यु भएको जनाइएको छ । असही ढुंगाना गुटरेसको सुरक्षाका लागि १२ कात्तिकमा हेलिकप्टरमा अन्नपूर्ण आधार शिविरमा पुगेका थिए ।

गुटेरेस हेलिकप्टरमा फर्किएपछि ढुंगाना, गाउँपालिका अध्यक्ष विष्णु केसीलगायत हिँडेर फर्किँदै थिए । हिमालय भन्ने ठाउँमा गएराति बास बसेका ढुंगानालाई बिहान श्वासप्रस्वासमा समस्या भएपछि हेलिकप्टरमा पोखरामा ल्याइएको थियो ।

उपचारको क्रममा ९:४६ मा चिकित्सकले उनलाई मृत घोषणा गरेको कार्यालयले जनाएको छ। उनी प्रहरी चौकी घान्द्रुकका इन्चार्ज थिए। पर्वत मोदी गाउँपालिका-६ का उनी ४२ वर्षका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here