कनेक्ट आईपीएस प्रयोग गर्नुहुन्छ ? अब निःशुल्क पैसा ट्रान्सफर गर्नुस

काठमाडौं, २० भदौ । कनेक्ट आईपीएस प्रयोगकर्ताले निःशुल्क रकम ट्रान्सफर गर्न पाउने भएका छन् । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले कनेक्टआईपीएस ई—पेमेण्ट प्रणालीमा निःशुल्क फण्ड ट्रान्सफरको सुविधा शुरु गरेको हो ।

सीमित अवधिका लागि शुरु गरिएको सो सुविधाअन्तर्गत कनेक्ट आईपीएस प्रणालीमा आफ्नो बैंक खाता लिंक गरी भेरिफाई गराइसकेका ग्राहकले मोबाइल नम्बरको आधारमा गरिने फण्ड ट्रान्सफर निःशुल्क गरिएको कम्पनीले बताएको छ ।

यो सेवाले कनेक्ट आईपीएसका ग्राहहरुलाई सिधै आफ्नो बैंक खाताबाट तत्कालै पैसा पठाउन थप सुविधा पुग्ने उसको अपेक्षा छ ।

एनसीएचएलले ५३ भन्दा बढि बैंक तथा वित्तिय संस्थाहरुमार्फत ग्राहकहरुका लागि बैंक खातामा आधारित रियल–टाइम भुक्तानी गर्न कनेक्ट आईपीएस ई—पेमेण्ट प्रणाली संञ्चालन गरिरहेको छ ।
यस प्रणालीमा अनलाइन फण्ड ट्रान्सफर, पेमेन्ट प्रोसेसर (गेटवे), क्रेडिट कार्ड÷बिलभुक्तानी लगायत सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोग आवेदन शुल्क भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी ,नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोष सम्बन्धी भुक्तानी, क्रेडिट कार्ड बिलभुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, नेप्से अनलाईन ट्रेडिङ्ग तथा सेयर ब्रोकरलाई भुक्तानी लगायतका सेवाहरु उपलब्ध रहेका छन् ।

बैंकका ग्राहकले कनेक्ट आईपीएस प्रणालीमा आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक तथा भेरिफाई गराई यसमा उपलब्ध हुने भुक्तानी सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here