ग्लोबल आइएमई बैंकको डेपुटी सीईओमा सुमन पोखरेल नियुक्त

काठमाडौं । ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा सुमन पोखरेल नियुक्त भएका छन् ।

बैंक संचालक समितिको आइतबार बसेको बैठकले पोखरेललाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । पोखरेलसँग दुई दशक भन्दा लामो बैंक तथा वित्तीय क्षेत्रमा काम गरेको अनुभव रहेको छ ।

वित्तीय संस्थाहरुको दीर्घकालीन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गरी कुशल ब्यवस्थापकको रुपमा स्थापित पोखरेल यसअघि आइएमई ग्रुपको वरिष्ठ उपाध्यक्ष थिए ।

उनले नेपालको पहिलो रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रही उक्त कम्पनीलाई थप उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत पोखरेलले नेपालको सबैभन्दा ठूलो बैंकमा पुनः आवद्ध भई काम गर्ने अवसर प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै बैंकलाई थप सबल र सुदृढ बनाउन आफ्नो भूमिका रहने बताए ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५० शाखा, ३६९ एटीएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here