अनिल पुरी बने एचआर म्यानेजर अफ दि ईयर

काठमाडौं, २१ भदौ । मानव संसाधन समाज नेपालले वार्षिकरुपमा प्रदान गर्ने एचआर म्यानेजर अफ दि ईयर यो वर्ष डाबर नेपालका एचआर कर्पोरेट प्रमुख अनिल पुरी घोषित भएका छन् ।

मानव संसाधन समाज नेपालद्धारा आयोजित आठौं राष्ट्रिय मानव संसाधन सम्मेलन २०१९ को अवसर पारेर पुरीलाई सो ‘एचआर म्यानेजर अफ दि ईयर’ अवार्ड दिईएको हो ।

सम्मेलनको उद्घाटन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले विश्व बजारमा बिक्नसक्ने किसिमको श्रम र जनशक्ति तयार गर्नुपर्ने बताए । उनले श्रम बजारको आवश्यकताअनुसार श्रम विकास गर्नुपर्ने नत्र कतै काम नपाउने अवस्था आउन सक्ने स्पष्ट पारे ।

दक्ष जनशक्ति विकासका लागि सरकारले नयाँ रणनीतिको विकास गरिरहेको र त्यसका लागि अब आउने शिक्षा नीतिमा पनि विशेष प्रावधान राखिने विष्टले जानकारी दिए । उनका अनुसार सरकारले एक वर्षमा ४ लाखको हाराहारीमा रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ तर सरकारसँग त्यसका लागि न त बलियो संस्थागत संरचना छ न त आवश्यक स्रोत, विज्ञहरु र बजारसम्बन्धी तथ्यांक नै छ ।

त्यसैले सरकार निजीक्षेत्र तथा अन्तरराष्ट्रिय दाताहरुसँग सहकार्य गर्न तयार रहेको उनको भनाइ छ ।

‘मानव संसाधन विकासको योजनाका साथ अगाडि बढ्नुपर्ने छ, विश्व बजारमा देखिएको तिब्रताअनुसार अगाडि बढ्नसक्नुपर्छ,’ मन्त्री बिष्टले भने ।

उनले मानव संसाधन कानून हेरिरहेको जानकारी दिँदै सरकारले स्थानीय तहमा पनि सिपयुक्त जनशक्ति तयार पार्ने योजना लिएको बताए । ‘सरकारले स्थानीय तहमा सिपयुक्त जनशक्ति उत्पादन गर्ने निर्णय गरेको छ, जसले हाम्रो आवश्यकतालाई पुरा गर्दछ भने नयाँ शिक्षा नीतिबाट पनि मानव संसाधनको सम्बोधन गर्ने प्रयास हुनेछ,’ उनले भने ।

मन्त्री विष्टले अहिलेको अवस्थामा जनशक्ति, प्रकृया र प्रविधिलाई साथसाथै लान सके मात्र फाइदा हुने बताए ।

कार्यक्रममा मानव संसाधन समाज नेपालका अध्यक्ष मोहन ओझाले अहिलेसम्म नेपालमा मानव संसाधनलाई महत्व नदिईएको र सिपयुक्त जनशक्तिको अभाव देखिएको बताए । उनले देशभित्र मानव संसाधनको विकास गर्ने हो भने ‘मानव संसाधन मन्त्रालय’ गठन गर्न समेत माग गरे ।

‘अपस्किलिङ एण्ड रिस्किलिङ एचआर’ मुख्य नारा रहेको सो एक दिने सम्मेलनमा नेपालका विभिन्न संघ संस्थामा कार्यरत मानव संसाधन अधिकृत, व्यवसायीक व्यक्तित्वहरु, ट्रेनिङ्ग म्यानेजर, प्रमुख कार्यकारी अधिकृत, निर्देशकहरु, एचआर प्रोफेसनल लगायतको सहभागी रहेका थिए ।

स्वदेश र विदेशका बैंक, वित्तीय संस्था, बहुराष्ट्रिय कम्पनी, गैरसरकारी संस्था, उत्पादनमूलक कम्पनी, सूचना प्रविधि, पूर्वाधार, बीमा, निर्माण र परामर्शको क्षेत्रबाट २ सय ५० जना भन्दा बढी एचआर विज्ञ, व्यवस्थापन विज्ञले सम्मेलनमा सहभागिता जनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here