जथाभावी फूलमाला बेच्नेलाई भ्यानमा राखेर महानगरले पुर्‍याइदियो तोकिदिएको बिक्रीस्थल

काठमाडौं । तिहार लक्षित फूलको माला जथाभावी बेच्नेहरुलाई काठमाडौं महानगरपालिकाले नियन्त्रणमा लिएर फूलमाला बेच्न तोकिदिएको स्थानमा पुर्याएको छ ।

तिहारका लागि फूल-माला बिक्रीका लागि भृकुटीमण्डप,तीनकुने,हाँडीगाउँ र बालाजु कोल्ड स्टोर छेउ स्वदेशमा उत्पादित फूल बिक्रीका लागि तोकेको हो। तोकिएकै स्थानबाट फूल बिक्री गर्न महानगरपालिकाले कडाइ गरेको छ।

तिहार लक्षित फूल र माला लिएर बेच्न आएका किसानहरु न्यूरोडसहित सहरका विभिन्न ठाउँ पुगेका थिए । उनीहरूलाई बिक्री स्थल थाहा नभएकाले सवारी साधनमा राखेर बिक्री स्थलमा पुर्‍याएको महानगरले जनाएको छ।

सवारी साधनमा फूल राख्न तथा झार्नका लागि नगर प्रहरीले सघाएको छ । न्यूरोड सडकमा बसेर फूल बेच्ने व्यापारीलाई भृकुटीमण्डप सारिएको छ । यसबाट सो क्षेत्रमा सवारी आवागमन खुकुलो भएको महानगर प्रहरीले जनाएको छ।

महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले उपभोक्तालाई महानगरपालिकाले व्यवस्थापन गरेको स्थानमा आएर स्वदेशी फूल र माला खरिद गर्न अनुरोध गरेका छन्। महानगरभरी तोकिएका स्थानमा नेपाली फूलहरू मात्रै बिक्री गरिने महानगरपालिकाले जनाएको छ । यसका लागि महानगरपालिका, नेपाल फ्लोरिकल्चर एशोसिएसन र चेम्बर अफ कमर्शको संयुक्त टोलीले अनुगमन गर्ने महानगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here