लामो समयदेखि बन्द रहेको कोरला नाका सञ्चालन,एक हजार सर्वसाधारणलाई अनुमतिपत्र वितरण

काठमाडौं । लामो समयदेखि बन्द रहेको मुस्ताङको कोरला नाका आजदेखि सञ्चालनमा आउने भएको छ । गण्डकी प्रदेशलाई चीनसँग जोड्ने प्रमुख नाका आज बिहान १० बजेदेखि सञ्चालनमा आउन लागेको हो ।

नेपाल र चिनियाँ अधिकारीले एक संयुक्त कार्यक्रममार्फत नाका सञ्चालनको औपचारिक घोषणा गर्ने तयारी गरेका छन् । मुस्ताङका प्रतिनिधिसभा सदस्य योगेश गौचन थकालीले केही साताअघि नै २७ कात्तिकमा कोरला नाका सञ्चालनमा आउन लागेको बताएका थिए ।

कोरोना महामारी फैलिने डरले चीनले उक्त नाका बन्द गरेको थियो । मुस्ताङसहित गण्डकी प्रदेशका लागि निकै महत्वपूर्ण यो नाका सञ्चालनका लागि कूटनीतिक पहल पनि निकै लामो समयदेखि भएको थियो । केरुङ र तातोपानीजस्ता व्यापारिक नाका सञ्चानलमा समस्या आएको बेला चीनले कोरला नाकालाई प्राथमिकतामा राखेको थिएन ।

गत असोजमा चीन भ्रमणमा गएको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोरलासहितका अन्य नाका सञ्चालनमा जोड दिएका थिए । हुम्लाको हिल्सा नाका भने स्तरोन्नति गर्ने सहमति भएको थियो । नाका सञ्चालनमा आउने भएपछि मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका झण्डै एक हजार सर्वसाधारणलाई नेपाल चीन प्रवेश अनुमतिपत्र वितरण गरिएको छ । अस्थायी पास वितरण गर्ने प्रचलन भने पुरानै हो । त्यस्तो पास पाएका नागरिक जुनसुकै समयमा पनि चीन आवत जावतको सुविधा पाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here