नेपालगन्जका व्यवसायीले रोके भारत जाने बस

नेपालगन्ज,२१ भदौ । पर्यटकका नाममा स्थानीयलाई ओसार पसार गरेको भन्दै नेपालगन्जका पर्यटन व्यवसायीले नेपालगन्ज हुँदै भारतका विभिन्न शहरमा सञ्चालन भइरहेका यात्रुवाहक बस रोक्न थालेका छन् ।

पर्यटकीय इजाजत लिएर भारतका विभिन्न शहरमा यात्रु ओसार–पसार गर्ने नेपाली बसलाई रोक्न सरोकारवाला निकायलाई पटक–पटक अनुरोध गर्दा पनि बेवास्ता गरेपछि आफैँले बस रोक्नु परेको होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भीम कँडेलले बताए ।

नेपालगन्ज हुँदै दैनिक दर्जनभन्दा बढी गाडी नेपाल–भारतमा ओहोरदोहोर गर्छन् । भारततर्फ जाँदा दैनिक राति ९ बजेसम्म नेपालगन्ज नाका पार गर्ने बस नेपाल फर्किंदा बिहान ७ देखि १० बजेसम्म फर्किने गरेका छन् ।

होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भीम कँडेलका अनुसार भारतका विभिन्न शहरबाट पश्चिम नेपालका विभिन्न जिल्लामा नेपालगन्ज नाका हुँदै सिधा सञ्चालन हुने बसलाई शुक्रबारदेखि रोक्न थालिएको हो ।

‘हिजो सिमलाबाट दाङको तुलसीपुर जाँदै गरेको बसलाई रोकेर यातायात व्यवस्था कार्यालय बुझाएका थियौँ,ँ अध्यक्ष कँडेलले भने, ‘आज पनि दाङ जाँदै गरेको एउटा बसलाई रोकेर यातायात व्यवस्था कार्यालय बुझाएका छौँ ।’

पर्यटकीय इजाजत लिएर यात्रु ओसार–पसार गर्ने बसलाई स्थानीय यातायात व्यवसायी र होटल तथा पर्यटन व्यवसायीले रोक्न थालेपछि नेपालगन्जको पुष्पलालचोक क्षेत्रमा तनावसमेत हुने गरेको छ ।

‘पर्यटकका नाममा यात्रु ओसार्न पाइँदैन’, कँडेलले भने, ‘ंयी गाडी नेपालगन्जमा रोक्दै नरोकी सिधै गन्तव्यमा जाने हुनाले यहाँका व्यवसायीलाई मर्का परेको छ ।’

होटल व्यवसायीले रोकेर बुझाएका अवैध बसलाई यातायात कार्यालयले बिना कुनै कारवाही छोड्ने गरेको कँडेलको आरोप छ । अवैध बस सञ्चालन नरोकिँदासम्म चरणबद्ध रुपमा यस्ता कार्यका विरुद्ध लाग्ने होटल व्यवसायी सङ्घले जनाएको छ ।

पर्यटन सुविधाको इजाजत लिएर यात्रुवाहक बस सञ्चालन गरिँदा यातायात व्यवसायीहरुका लागि मात्रै नभई सिङ्गो नेपालगन्ज शहर प्रभावित भएको नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए । उनले अवैध कार्य रोक्न सरोकारवाला निकाय प्रहरी प्रशासन र यातायात व्यवस्था कार्यालयले कडाइ गर्नुपर्ने बताए ।

भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरीले अवैध रुपमा सञ्चालन हुने यात्रुवाहक बसका कारण वैधानिक रुपमा सरकारको अनुमति लिएर सञ्चालन हुने नेपाल–भारत मैत्री बसलाई समेत समस्या हुने गरेको बताए ।

उहाँले यो समस्या होटल व्यवसायीको एक छाक खाना र एक रात बासको मात्र नभई समग्र व्यवसायसँग जोडिएको बताए । बाँकेमा भर्खरै प्रजिअको कार्यभार सम्हालेका प्रजिअ कुमारबहादुर खड्काले सरोकारवालासँग छलफल गरी उपयुक्त निर्णय लिने आश्वासन दिए । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here