बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्साना कपाली

काठमाडौं । सन् २०२३ को ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्साना कपाली परेकी छन् । बीबीसी सूचीमा पर्ने उनी एकमात्र नेपाली हुन्।

रुक्सना नेपालको आदिवासी नेवा राष्ट्रकी सदस्य, ट्रान्सजेन्डर मानवअधिकारकर्मी हुन् भने उनले लिंग र यौनिकताको बारेमा सामाजिक सञ्जालमा क्वियर अधिकारका मुद्दाहरूमा आवाज उठाइरहेकी छन् ।

ट्रान्सजेन्डर मानवअधिकार कार्यकर्ता रुक्साना नेपालमा एलजीबीटीक्यू+ समुदायकाे कानुनी तथा संवैधानिक अधिकारको क्षेत्रमा सक्रिय रहेकाले उनलाई प्रभावशाली महिलाको सूचीमा राखेको बीबीसीले स्पष्ट पारेको छ । उनी अहिले पूर्वाञ्चल विश्वविद्यालयमा रहेर कानुन विषय पढ्दै छिन् ।

यस वर्ष बीबीसीको सूचीमा पूर्व अमेरिकी प्रथम महिलासमेत रहेकी लेखक तथा वकिल मिसेल ओबामा, मानव अधिकारको वकालत गर्दै आएकी अमाल क्लूनी, ब्लोन डी’ओर विजेता फुटबलर, एइताना बोनमाटी, एआई विज्ञ टिमनिट गेब्रु, हलिउड स्टार अमेरिका फेरेरा र बलिउड अभिनेत्री दिया मिर्जालगायत रहेका छन् ।

यसअघि १०० प्रभावशाली महिलाको सूचीमा नेपालबाट सपना रोका मगर, बोनिता शर्मा, उमादेवी वादीलगायत परेका थिए। सपनाले बेवारिसे शवहरुको व्यवस्थापन गर्दै आएकी छिन् । म्याग्दीकी सपनाले अहिलेसम्म करिब ३ सयभन्दा बेवारिसे शवको व्यवस्थापन गरिसकेकी छिन् ।

राजनीति, उद्यम, कला, साहित्य, सेवाजस्ता क्षेत्रमार्फत् महिला सशक्तीकरणमा महत्त्वपूर्ण प्रभाव पार्ने संसारभरका सय महिला छनौट गरी सन् २०१३ यता बीबीसीले प्रत्येक वर्ष यस्तो सूची सार्वजनिक गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here