अन्तराष्ट्रिय साहसी महिला पुरस्कार–२०२३ को लागि सबिता उप्रेती छनौट

काठमाडौ । अटिजम भएका बालबालिकाको क्षेत्रमा कार्यरत सबिता उप्रेती अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार–२०२३ को लागि छनौट भएकी छन् ।

१ सय ४० राष्ट्र सदस्य रहेको भारतीय मानवअधिकार परिषद्ले उनलाई उक्त पुरस्कारको लागि छनौट गरेको हो । डिसेम्बर १० मा पर्ने संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको उपलक्ष्यमा १३ औँ अन्तर्राष्ट्रिय मानव अधिकार शिखर सम्मेलनको अवसरमा भारतको नयाँ दिल्लीमा उप्रेतीलाई उक्त पुरस्कार प्रदान गरिने परिषद्ले विज्ञप्तिमार्फत जनाएको छ ।

अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार–२०२३ शीर्षक पुरस्कारको श्रेणी मानव अधिकार, शान्ति र मानवीय सेवाहरू प्रवर्द्धन गर्न प्रेरणादायी र दूरदर्शी नेतृत्व रहेको छ ।

ठूलो व्यक्तिगत जोखिम, त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता र महिला, सशक्तीकरण तथा बालबालिका सेवा र वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गर्ने विश्वभरका महिलाहरूलाई यो पुरस्कार दिने गरिन्छ । यो पुरस्कार मानव अधिकार परिषद्को प्रतिष्ठित मानव अधिकार पुरस्कार हो ।

सबिता उप्रेती तेह्र वर्षयता अटिजम भएका बालबालिकाको लागि विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (SSDRC) स्थापना गरी अटिजम बालबालिकाहरूको सेवामा क्रियाशील छिन् ।

उप्रेतीका अनुसार यस संस्थाले अहिले अटिजम भएका ६० जना बालबालिका तथा किशोर किशोरीहरूलाई विशेष शिक्षा र थेरापी सेवाहरू प्रदान गरिँदै आएको छ ।

आफूले बाबुआमाले विवाहको लागि जोहो गरेको रकममार्फत २२ वर्षको उमेरदेखि नै नेपाली समाजमा अटिजमको बारेमा सचेतना, सरकारसँग पैरवी तथा बालबालिकाहरूको सेवामा अविराम रूपमा अभियान सञ्चालन गदै आएको बताउँछिन् ।

उप्रेती जनसेवा श्री पदक (समाज सेवामा) र युवा तथा खेलकुद मन्त्रालयले प्रदान युवा राष्ट्रिय युवा प्रतिभा पुरस्कार (समाजसेवा र शिक्षा) जस्तो राष्ट्रिय पुरस्कारहरूबाट समेत पुरस्कृत भइसकेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here