कोप-२८ मा भाग लिन प्रधानमन्त्री ‘प्रचण्ड’ बुधबार यूएई जाने, यस्तो छ कार्यतालिका

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रहरूको २८औँ सम्मेलन (कोप–२८) मा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार यूएई जाने भएका छन् ।

बुधबार राति साढे ८ बजे नेपाल एयरलाइन्सको विमानमार्फत प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जान लागेका हुन् । संयुक्त अरब इमिरेट्स (यूएई)मा बिहीबारदेखि २६ गतेसम्म याे सम्मेलनकाे आयाेजना हुँदैछ । प्रधानमन्त्री प्रचण्डले सम्मेलनकाे तीनवटा सत्रमा नेतृत्व गर्ने बताइएकाे छ ।

कोप–२८ सम्मेलन यही मंसिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख)सम्म संयुक्त अरब इमिरेट्सको दुवईमा हुँदैछ । यस सम्मेलनलाई नेपालले निकै महत्वका साथ सोहीअनुसारको तयारी पनि गरेको छ ।

सम्मेलनमा नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर र वन तथा वातावरणमन्त्री महतोलगायत विज्ञसहतिको उच्चस्तरीय सहभागिता जनाउने छ ।

प्रधानमन्त्री प्रचण्ड सम्मेलनमा सहभागिताका लागि यही मंसिर १३ गते दुवई प्रस्थान गर्ने र मंसिर १७ गते स्वदेश फर्कने उनका विकास व्यवस्थापन विज्ञ तथा जलवायु सल्लाहकार डा. पुपलर जेन्टलले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले सम्मेलनका क्रममा मंसिर १६ गते आयोजना हुने ‘उच्चस्तरीय सत्र’लाई सम्बोधन गर्नेछन् । यही मंसिर १५ र १६ गते (डिसेम्बर १ र २ तारिख) हुने ‘उच्चस्तरीय सत्र’मा विश्वभरबाट सम्मेलनमा सहभागी राज्य÷सरकार प्रमुखहरूले सम्बोधन गर्ने कार्यतालिका छ । यसैगरी भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले विभिन्न साइडलाइन वार्ता र उच्चस्तरीय भेटवार्ता समेत गर्नेछन् ।

यसपटकको सम्मेलनमा नेपालले कार्यक्रम गर्नका लागि सम्मेलन परिसरमा पहिलोपटक आफ्नै ‘पेभिलियन’ (बृहत् मण्डला) स्थापना गरेको छ । मन्त्रालयको तालिकाअनुसार ‘पेभिलियन’मा डिसेम्बर ३ देखि ११ तारिखसम्म विभिन्न विषयका ३६ कार्यक्रम हुनेछन् । प्रधानमन्त्री प्रचण्डले पेभिलियनको उद्घाट्नमा समेत सम्बोधन गर्नेछन् ।

उनी मंसिर १७ गते स्वदेश फर्किने तालिका छ । प्रधानमन्त्रीले जलवायु सम्मेलनमा नेपालकाे अधिकार स्थापित गर्ने बताउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here