ऋण दिँदा प्यान नम्बर अनिवार्य, दुई प्रतिशत बढी पेनाल ब्याज लिन नपाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कम्पनीलाई कर्जा प्रवाह गर्दा ऋणीबाट अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिन निर्देशन दिएको छ । राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एबम् प्रक्रियागत व्यवस्था २०७० को चौथो संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

तर, २५ लाख रुपैयाँ वा सोभन्दा कम कर्जा प्रवाह गरेको व्यक्तिबाट स्थायी लेखा नम्बर लिन अनिवार्य नहुने राष्ट्र बैंकले बताएको छ । साथै हायर पर्चेज कर्जा दिने कम्पनीले कुनै पनि ग्राहकलाई कर्जा दिँदा ब्याज बाहेक अन्य शुल्क तथा दस्तुर लिन नपाउने भएका हुन् ।

साथै कर्जा प्रवाह गर्दा ऋणीसँग गरिने सम्झौतामा वार्षिक पेनाल ब्याजदर २ प्रतिशत विन्दुभन्दा बढी नहुने गरी उल्लेख गर्नुपर्ने राष्ट्र बैंकले निर्देशन दिएको हो ।

कर्जा प्रवाह गर्दा ऋणीसँग गरिने सम्झौतामा वार्षिक पेनाल ब्याजदर २ प्रतिशत विन्दुभन्दा बढी नहुने प्रावधान संशोधनमा राखिएको छ ।

कार्यकारी प्रमुख/प्रबन्ध सञ्चालक नियुक्तिसम्बन्धी व्यवस्थामा कार्यकारी प्रमुख/प्रबन्ध सञ्चालकको रुपमा नियुक्त हुने व्यक्ति स्नातक उपाधि हासिल गरेको हुनुपर्ने प्रावधान पनि ल्याइएको छ ।

त्यस्तै सञ्चालक/प्रबन्ध सञ्चालक/कार्यकारी प्रमुखका लागि अयोग्य हुने अवस्थामा प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको वा आपराधिक पृष्ठभूमि देखिएको भए सजाय भुक्तान गरेको ५ वर्ष व्यतित भइनसकेको भए सञ्चालक/प्रबन्ध सञ्चालक/कार्यकारी प्रमुख पदको लागि अयोग्य मानिनेछ ।

टाटपल्टेको वा भ्रष्टाचार वा बेइमानी वा जालसाजीको आरोपमा सजाय पाएको, कालोसूचीमा समावेश भएको वा त्यस्तो सूचीबाट फुकुवा भएको ३ वर्ष नपुगेको, आफ्नो पूर्व कारोबारमा बैंकबाट निलम्बन गरिएको वा बैंकबाट भएको अनुसन्धानमा शंकास्पद कारोबारमा संलग्न भनी किटान गरिएको, निलम्बनबाट फुकुवा भएको ५ वर्ष नपुगेको वा शंकास्पद कारोबारको संलग्नताबाट सफाइ नपाएको भए सञ्चालक/प्रबन्ध सञ्चालक/कार्यकारी प्रमुख पदको लागि अयोग्य मानिने व्यवस्था संशोधनमा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here