जलवायु परिवर्तनले विश्व अर्थतन्त्रमा खर्बौं डलरको नोक्सानी

पेरिस । जलवायु परिवर्तनले पहिले नै विश्व अर्थतन्त्रबाट अर्बौं डलर कम गरिरहेको र यसबाट विकासोन्मुख मुलुकहरू सबैभन्दा बढी प्रभावित भएको कोप २८ जलवायु शिखर सम्मेलनअघि मङ्गलबार प्रकाशित एउटा नयाँ प्रतिवेदनले बताएको छ ।

डेलावेयर विश्वविद्यालयको प्रतिवेदनले जनसङ्ख्याको आधारमा मूल्याङ्कन गर्दा मानव–जनित जलवायु परिवर्तनको असरले गत वर्ष विश्वव्यापी आर्थिक उत्पादन ६.३ प्रतिशतले घटेको अनुमान गरेको छ । उक्त आँकडाले कृषि र उत्पादनमा अवरोध र उच्च गर्मीबाट उत्पादकत्वमा कमीका साथै विश्वव्यापी व्यापार र लगानीमाथिको प्रभावजस्ता जलवायु परिवर्तनका दुवै प्रत्यक्ष परिणामहरूलाई प्रतिबिम्बित गर्दछ ।

‘जलवायु परिवर्तनका कारण विश्व खर्बौं डलरले गरिब भएको छ र यसको अधिकांंश भार गरिब मुलुकहरूमाथि परेको छ,’ डेलावेयर विश्वविद्यालयका मुख्य लेखक जेम्स राइजिङले भने, ‘यो जानकारीले धेरै मुलुकले सामना गरिरहेका चुनौती र तिनीहरूलाई सम्बोधन गर्न उनीहरूलाई तत्काल आवश्यक पर्ने सहयोगलाई स्पष्ट पार्न सक्छ भन्ने मलाई आशा छ ।’

औसत व्यक्तिले सामना गर्ने प्रभावहरूलाई ध्यानमा नराखी गणना गर्दा सन् २०२२ मा विश्वव्यापी कूल गार्हस्थ्य उत्पादन (जीडीपी)को घाटा कूल गार्हस्थ्य उत्पादनको १.८ प्रतिशत अर्थात करिब १५ खर्ब अमेरिकी डलर थियो ।

‘ती दुई सङ्ख्याबीचको भिन्नताले कम आम्दानी भएका मुलुक र अत्यधिक गर्मी हुने क्षेत्रहरूमा केन्द्रित प्रभावहरूको असमान वितरणलाई प्रतिबिम्बित गर्दछ, यी मुलुकमा सामान्यतया उच्च जनसङ्ख्या र कम जीडीपी छन्,’ लेखकहरूले एक विज्ञप्तिमा भनेका छन् । ।

अतिकम विकसित मुलुकहरूमा जनसङ्ख्या–भारित जीडीपीमा ८.३ प्रतिशतको नोक्सान भएको छ । यसबाट दक्षिणपूर्वी एसिया र दक्षिण अफ्रिकी मुलुकहरू विशेषरूपमा प्रभावित भएका छन् । यिनीहरूको जीडीपीमा क्रमशः १४.१प्रतिशत र ११.२ प्रतिशतले नोक्सान भएको छ ।

अर्कोतर्फ केही विकसित मुलुकहरूले फाइदा लिएका छन् । कम जाडोका कारण युरोपमा गत वर्ष जीडीपीमा करिब ५ प्रतिशतको शुद्ध लाभ देखिएको थियो । यद्यपि तातो गृष्मकालले हल्का जाडोसँग सन्तुलन गर्ने भएकाले यस्तै प्रकारको लाभ ‘समाप्त हुने दिशातर्फ अग्रसर’ हुने भन्दै प्रतिवेदनमा चेतावनी दिइएको छ ।

गत वर्ष इजिप्टमा कोप२७ शिखर सम्मेलनमा कमजोर मुलुकहरूलाई जलवायु प्रकोप र चरम मौसमबाट हुने ‘नोक्सान र क्षति’सँग सामना गर्न सहयोग गर्नका लागि एउटा समर्पित कोष स्थापना गर्न सहभागी मुलुकहरू सहमत भएका थिए ।

केही विवरणमा हालै सहमति भए पनि कोष र विशेषरूपमा यसमा कसले योगदान गर्ने र कति गर्ने भन्नेबारे बिहीबारदेखि सुरु हुने यो वर्षको कोप२८ शिखर सम्मेलनमा छलफलको एउटा प्रमुख विन्दु हुनेछ ।

प्रतिवेदनअनुसार पछिल्लो ३० वर्षमा न्यून र मध्यम आम्दानी भएका मुलुकहरूको पूँजी र जीडीपीमा संयुक्तरूपमा २१ खर्ब डलरको नोक्सान भएको छ । यो विकासोन्मुख विश्वको कूल २०२३ जीडीपीको करिब आधा हो ।

विश्लेषणमा गैर–बजार घाटा र प्रभावहरूको गणना नगरिएको भन्दै लेखकहरूले नोक्सान ‘परम्परागत अनुमान’ भएको बताएका छन् । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here