रविले भने ‘केही खराब व्यक्ति पार्टीमा भित्रिएको पाइयो ‘

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केही व्यक्तिले पार्टीमा समस्या ल्याउन सक्ने देखिएको बताएका छन् ।

महोत्तरीको जलेश्वरमा भएको पार्टीको केन्द्रीय बैठकमा बुधबार पेस गरिएको प्रतिवेदनका अनुसार रास्वपमा अन्य दलबाट प्रवेश गर्ने केही व्यक्ति भने गलत प्रवृत्तिका रहेका छन्।

प्रतिवेदनका अनुसार खराबहरूले क्रमशः दबाब र प्रभावमा पनि पार्न सक्ने देखिन्छ।

अरु दलमा उचित स्थान नपाएर, स्वार्थ पूरा हुने नदेखेर रास्वपामा अवसरका लागि प्रवेश गर्नेप्रति सचेत हुन उनले पार्टीपङ्तिलाई आग्रह पनि गरेका छन् ।

पार्टीको संगठनप्रति आकर्षण रहेकाले सचेत बन्नुपर्ने रविको जोड छ । सदस्य, शुभेच्छुक बढिरहेका बेला सचेत, सजग र कठोर हुनुपर्ने उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

‘हामी बेलैमा सचेत र सजग भएनौं भने पुराना राजनीतिक दलको गलत प्रवृत्ति रास्वपामा छिट्टै सर्छ’, सभापति लामिछानेले प्रतिवेदनमा भनेका छन् ।

पार्टीका विभिन्न संरचनाको नेतृत्वमा असल मान्छे ल्याउन धेरै काम गर्नुपर्ने देखिएको पनि लामिछानेले बताएका छन् ।

साथै उनका अनुसार पार्टीमा राम्रा मान्छेलाई आउन नदिने कोसिस दलभित्रैबाट भएको आशंका छ। त्यसका लागि प्राइमरी विधिको दुरुपयोग समेत हुनसक्ने जोखिम औंल्याएका छन् ।

असल व्यक्तिहरु पार्टीमा भित्र्याउन रास्वपा थप खुला हुनुपर्ने लामिछानेको प्रतिवेदनमा उल्लेख छ । ‘राम्रो टिम बनाउने बहानामा फउल खेल्ने खेलाडीलाई भित्र्याउन सकिन्न’उनले भनेका छन् ।

इमान्दार व्यक्ति पार्टीमा भित्र्याउन लिडरसीप एकेडेमी र उम्मेदवार क्लबको अवधारणा लागु गर्नपर्ने उनले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here