इजरायल र हमासबीच थप १ दिन युद्धविराम

काठमाडौं । इजरायल र हमासले दुई पक्षबीच जारी युद्धविराम थप एक दिन लम्ब्याइएको बताएका छन्। इजरायली सेनाले ‘बन्धकहरूलाई रिहा गर्ने प्रक्रिया जारी राख्न मध्यस्थकर्ताहरूको प्रयासलाई ध्यानमा राख्दै’ हमाससँगको युद्धविराम कायम रहने बताएको छ।

दुवैतर्फ बन्धक तथा बन्दी रिहा गर्ने सहमतिमा गत शुक्रबारदेखि चार दिनका लागि युद्धविराम घोषणा गरिएको थियो। तर दुवै पक्षको सहमतिमा युद्धविरामको अवधि १/१ दिन थप गर्दै लगिएको हो। इजरायल र हमासबीच सुरुमा ४ दिन अस्थायी युद्धविराम गर्ने सहमति भएको थियो ।

त्यसपछि मंगलबार पुन: २ दिन युद्धविराम लम्ब्याउने सहमति भएको हो । हमासले थप बन्धक छाड्ने बताएपछि युद्धविराम लम्ब्याउन इजरायल सहमत भएको हो । अहिलेसम्म हमासले ९७ जना बन्धक छाडेको टाइम्स अफ इजरायलले जनाएको छ । जसमध्ये ७३ जना इजरायली र २४ जना विदेशी नागरिक रहेका छन् ।

यसबीच इजरायलले आफ्ना जेलमा रहेका केही प्यालेस्टिनी बन्दी तथा हमासले आफ्नो नियन्त्रणमा रहेका बन्धकलाई रिहा गरेका छन्।

युद्धविराम लम्बिएसँगै हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी पनि रिहा हुने आशा बढेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here