टिकटकले समाजमा सामाजिक रोग र महामारी फैलाएको प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जाल टिकटकले नेपाली समाजमा सामाजिक रोग र महामारी फैलाएको दाबी गरेका छन् । शुक्रबार सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनको जवाफ दिदै यस्तो बताएका हुन् ।

प्रम प्रचण्डले १६ वटा रिट निवेदनहरुको एकमुष्ट जवाफमा समाजमा प्रविधिगत प्रदुषण् (डिजिटल पोलुसन)को कारक टिकटक बनेको दावी गरे ।

लिखित जवाफमा प्रधानमन्त्री दाहालले भनेका छन्, ‘टिकटकको सकारात्मकका साथै नकारात्मक प्रयोग पनि भइरहेको देखिएकाले यो सामाजिक रोग तथा महामारीका रुपमा फैलिँदै गई प्रविधिगत प्रदुषण बढ्दै गएको हुँदा यसका समग्र नकारात्मक पक्षबाट समाज तथा समग्र राष्ट्रलाई नै सुरक्षित गरी बहुसंख्यक नागरिकको हित संरक्षण गर्ने अभिप्रायले यसको प्रयोगमा रोक लगाउने गरी निर्णय भएको हो ।’

नेपाली समाजमा सद्भाव विथोलेको, घृणा फैलाएको, सामाजिक सहिष्णुतामा आँच आउने अभिव्यक्तिहरु आएको, अश्लिल सामग्री शेयर फैलाउने क्रम बढेको उनले बताए । साथै व्यक्तिगत मानमर्दन गर्ने, बदलाको भावनाबाट प्रेरित भएर आवेशपूर्ण अभिव्यक्तिहरु पोष्ट गर्ने लगायतका विकृती बढेकाले प्रतिबन्ध लगाउनुपरेको दाबी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here