४ अर्ब ४० करोड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक, यस्ता छन् शर्तहरु

काठमाडौं । नेपाल राष्ट्र बैंकले कुल ४ अर्ब ३९ करोड ८० लाख रुपैयाँ रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ३ करोड रुपैयाँ र कर्मचारी सुरक्षण कोषमा रहेको १ अर्ब ३६ करोड ८० रुपैयाँ मुद्दतीमा राख्ने जानकारी गराएको हो ।

केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्त संस्थामा उक्त रकम मुद्दती निक्षेपमा राख्न लागेको हो । पेन्सन कोषको रकममध्ये २ अर्ब ४२ करोड ४० लाख वाणिज्य बैंकमा, ४५ करोड ४५ लाख विकास बैंक र १५ करोड १५ लाख रुपैयाँ फाइनान्स कम्पनीमा राख्न लागिएको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, कर्मचारी सुरक्षण कोषको १ अर्ब ९ करोड ४० लाख वाणिज्य बैंक, २० करोड ५२ लाख विकास बैंक र ६ करोड ८४ लाख फाइनान्समा राख्ने भएको हो ।

राष्ट्र बैंकले उक्त रकम १ वर्ष अवधि अर्थात् १ पुस २०८० देखि १ पुस २०८१ सम्मका लागि उक्त रकम मुद्दतीमा राख्न लागेको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले आफूले मुद्दती निक्षेपमा लिन चाहेको रकम र प्रस्ताव गरेको ब्याजदरसमेत उल्लेख गरी मंसिर १७ देखि १९ गते बेलुका ७ बजेसम्म आवेदन बुझाउन सक्नेछन् ।

बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा पनि दुई वर्ष, बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष अनुपात कायम रहेको, निष्क्रिय कर्जा कूल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम रहेको र खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्नेछ । कर्जा, निक्षेप अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेर शर्त पूरा गरेको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here